चितवन । दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी गएको असोज १२ गते शुक्रबारदेखि चितवनको नारायणगढमा  सञ्चालनमा आएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य पसल निस्प्रभावी देखिएको छ । 

सर्वसाधारणहरु चार्डपर्वमा ठगिनसक्ने कर्पोरेसनले नारायणगढमा संचालनमा ल्याएको सहुलियत दरको बिक्री कक्ष अर्थात सुपथ मूल्य पसलमा सर्वसाधारणको न्यून उपस्थिति देखिन्छ । 

सामान खरिद गर्न पुग्ने ग्राहक मूल्यमा खासै सहुलियत नभएको भन्दै रित्तो हात फर्किने गरेका पाइएको छ । बिहीबार संचारकर्मी त्यहाँ पुग्दा रत्ननगरकी एक सेवाग्राहीले अन्यत्र ५९ रुपैयाँँमा नै पाइने चिनीको मूल्य ७० रुपैयाँँ रहेको बताइन् । अन्य सामानको मूल्य पनि त्यस्तै रहेछ, आउने जाने भाडा जोड्दा नजिकैको पसलमा सस्तो पर्थ्यो, यहाँ सस्तो छ कि भनेर आइयो अन्तमा रित्तो हात मात्रै फर्किनुपरेको उनले गुनासो गरिन् । 

त्यस्तै, यस्तै अर्का पात्र हुन् खैरहनी नगरपालिकाबाट त्यहाँ पुगेका एक सेवाग्राही । उनले पनि यस्तै गुनासो पोखे । सस्तो बजार भनेर चर्चा सुनेपछि त्यहाँ सामान खरिद गर्न गएका थिए । तर, मूल्यमा खासै फरक नरहेको र १४ सय बराबरको समान किने पनि सन्तुष्ट नभएको बताए । 

यस्ता, दर्जनौ ग्राहक सुपथ पसल आएर समेत भाउ उपयुक्त नदेखेपछि रित्तो हात फर्किएका देखिएको थियो । 

यता , साल्ट ट्रेडिङ कर्पोरेसनको नारायणगढ शाखाले भने, सुपथ मूल्यको पसलबाट एक साताको अवधिमा मात्रै झण्डै दुई लाख भन्दा बढीको सामान बिक्री भएको दाबी गरेको छ । शाखा प्रमुख बुद्धिविनोद दाहालले अन्यत्र भन्दा यहाँ केही सस्तो पर्ने, बजार मूल्य नियन्त्रण गर्न पनि सहयोग पुगेको दाबी गरे । 

बजार मूल्यभन्दा महँगो चिनीको मूल्य भएको गुनासो आउन थालेपछि बिक्री हुने सामानको मूल्य विवरणमा चिनीको मूल्य उल्लेख नगरी बेच्ने गरिएको समेत उनको दाबी छ । 

गत वर्ष रत्ननगर, खैरहनी र भरतपुरका ग्रामीण क्षेत्रमा साल्ट ट्रेडिङ कर्पोरेसनले चाडबाडका बेला ३ दिन घुम्ती पसल सञ्चालन गरेको थियो । त्यसबेला ३ दिनमै ६ लाख २२ हजार ८ सय ९७ रुपैयाँ बराबरका सामान बिक्री भएको थियो । तर, घुम्ती पसल सञ्चालन गर्न अतिरिक्त खर्च लाग्ने भएकाले यो वर्ष घुम्ती पसल सञ्चालनका कार्यक्रम कटौति भएको बताइएको छ । 

चितवनको मुख्य बजारमा रहेको कार्यालय परिसरबाटै सुपथ मूल्यको पसल सञ्चालनमा छ । जसले ग्रामीण क्षेत्रका स्थानीयले लाभ लिन सकेका छैनन् । यस प्रसंंगमा शाखा प्रमुख दाहालले भने, “चाडबाड अवधिभर घुम्ती पसल चलाउने कुनै योजना छैन । यद्यपि ,“इच्छाकामना गाउँपालिका क्षेत्रमा १ दिन घुम्ती पसल चलाइनेछ”, सरकारले निर्देशन गरेमा चलाउन तयार छौं ।” 

चाडबाडका बेला विगतमा सुपथ मूल्यका घुम्ती पसलमा निकै भीडभाड हुने गर्दथे । चाडबाडलाई लक्षित गरी गतवर्ष चलाएको सुपथ मूल्य पसल बाट १ करोड १९ लाख ७८ हजार ७ सय ४१ रुपैयाँ बराबरको सामान बिक्री भएको थियो । भने, २०७३ सालमा ५६ लाख ७८ हजार ४ सय ३७ रुपैयाँ बराबरको सामान बिक्री भएको थियो । 

सुपथ मूल्य पसलबाट चिनी, तेल, चामल, दाल, केराउ, चना, बेसार, धनियाँ, मसला लगायत ४६ प्रकारका खाद्यान्न बिक्री वितरण भइरहेको छ । बिहान १० बजे देखि साँझ ५ बजेसम्म पसल सञ्चालन हुनेछ । पसल सञ्चालनका लागि ६ जना कर्मचारी खटाइएको छ ।