काठमाण्डौ । साल २०७८ मा नयाँ कीर्तिमान कायम गरेको सेयर बजारमा लगातार नियामक निकाय प्रहार र राजनीतिक व्यक्तित्वको अभिव्यक्तिले ठूलै व्रजपात परेको छ। 

अन्तिम कारोबार दिनमा सकारात्मक बन्दै सेयर बजारले साल २०७८ लाई बिदाइ गरेको छ। यसले आमलगानीकर्तामा खुसियाली छाएको छ। तर, यही वर्ष अधिकांश समयमा बजारले लगानीकर्तालाई निराश पारेको छ। 

साल २०७८ सेयर बजार परिसूचक र कारोबारले नयाँ कीर्तिमान कायम गरेको थियो। २०७८ साउन ३१ गते इतिहासकै उच्च २१ अर्ब ६४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो। लगत्तै भदौ २ गते नेप्से हालसम्मकै उच्च ३१९८.६ विन्दुमा बन्द भएको थियो। तर, भदौ लागेसँगै सेयर बजार निरन्तर घट्दै जाँदा लगानीकर्ता निराश बन्न पुगे। 

२०७८ सालको अन्तिम दिन सेयर बजार सूचक नेप्से २४१५.२४ विन्दुमा बन्द भएको छ। जुन २०७७ सालको अन्तिम विन्दु २७१४.७९ भन्दा २९९.५५ अंक कम हो। त्यस्तै इतिहासकै उच्च विन्दुको तुलनामा नेप्से अहिले ७८३.३६ अंकले तल झरिसकेको छ।

दैनिक २१ अर्ब रुपैयाँसम्मको कारोबार हुने गरेको सेयर बजारमा पछिल्ला दिनहरुमा कारोबार २ अर्ब रुपैयाँभन्दा मुनि संकुचन भएको छ। 

सेयर बजारमा नयाँ कीर्तिमान कायम गरेको वर्ष २०७८ यी कारणले बज्रपात पर्यो– 

राष्ट्र बैंकको नीति

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको सीमा १२ करोड रुपैयाँ तोक्यो। सेयर बजारमा यसको व्यापक विरोध भयो। 

त्यस्तै केन्द्रीय बैंकले सीसीडी रेसियो खारेज गरी सीडी रेसियो ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गर्यो। यसले तरलतामा दबाब परेको भन्दै लगानीकर्ता र व्यवसायीले खारेजी वा परिमार्जनको माग गरे। तरलता अभावसँगै बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप तान्न ब्याजदरमा बढाएका छन्। 

जोखिमयुक्त भन्दै ५१ कम्पनीको नामावली सार्वजनिक 

साल २०७८ मै नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जोखिमयुक्त भन्दै ५१ वटा कम्पनीको नामावली सार्वजनिक गर्यो। सेबोनको यो कामले सेयर बजारमा ठूलै हलचल भएको थियो। 

नेताहरुको अभिव्यक्ति

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सेयर बजारका बारेमा नकारात्मक अभिव्यक्ति दिए। बजारमा भीषण पहिलो गयो। अर्थमन्त्री भएदेखि जनार्दन शर्माले पनि सेयर बजारप्रति खासै सकारात्मक अभिव्यक्ति दिएनन्। उनले लगातारका मागहरु पनि सम्बोधन गर्न खासै चासो दिएनन्। तर, चौतर्फी आलोचना हुन थालेपछि पछिल्लो समय शर्माले सेयर बजार सुधारका लागि सकारात्मक अभिव्यक्ति दिन थालेका छन्। 

सेबोन र नेप्से प्रमुखमाथि सेयरको भित्री कारोबार संलग्न भएको आरोप

तत्कालीन सेबोनका अध्यक्ष भीष्मराज ढुंगा र नेप्सेका सीईओ चन्द्रसिंह साउदमाथि सर्वोत्तम सिमेन्टको सेयरको भित्री कारोबार संलग्न रहेको आरोप लाग्यो। यही काण्डमा सरकारले ढुंगाना सेबोन अध्यक्षबाट बर्खास्त गर्यो। साउदले भने नेप्सेको सीईओबाट आफैँ राजीनामा दिए। लामो समय रिक्त रहेका दुवै निकायले नयाँ नेतृत्व पाएका छन्। दुवैले सेयर बजारको विकास र विस्तार तथा सुधारका काम गर्ने बताउँदै आएका छन्। 

गभर्नर निलम्बित

वर्ष २०७८ को अन्त्यतिर सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कारबाही गर्दै निलम्बन गर्यो। उनीमाथि सरकार र अर्थमन्त्रीलाई सहयोग नगरेको आरोप लागेको छ।