काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा मागभन्दा ७ गुणा बढी आवेदन परेको छ।

धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिट मार्केट्स लिमिटेडका अनुसार आज सोमबार साँझ ५ बजेसम्म सिंगटी हाइड्रो इनर्जीको आईपीओमा १ अर्ब ८८ करोड ७२ लाख ९० हजार रुपैयाँबराबरको खरिद आवेदन परेको छ। आईपीओमा १२ लाख २२ हजार ८३२ आवेदकबाट १ करोड ८८ लाख ७२ हजार ९०० कित्ता सेयर खरिदका लागि आवेदन परेको क्यापिटलले जनाएको छ। 

यो तथ्यांकअनुसार सिंगटी हाइड्रो आईपीओमा ७ गुणा बढी आवेदन परेको छ। 

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ता आईपीओ निष्कासन गरेको छ। जसमा २ प्रतिशत अर्थात ५८ हजार कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भन ५ प्रतिशतले हुन आउने १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ। बाँकी २६ लाख ९७ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। 

यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुपति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट यो आईपीओमा आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ। 

यो आईपीओमा भोलि चैत १० गतेसम्म आवेदन दिन सकिनेछ।

नेपाल धितोपत्र बोर्डले गत पुस २१ गते सिंगटी हाइड्रोलाई आयोजना प्रभावित र सर्वसाधारणका लागि कुल ४३ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति दिएको थियो। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका बिगु र कालिन्चोक गाउँपालिका बासिन्दाका लागि गत माघ ४ गतेदेखि फागुन ३ गतेसम्म कुल १४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको गरेको थियो।  

आईपीओ कम्पनीको चुक्तापुँजीको ३० प्रतिशतबराबरको रहेको छ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ।