काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा आज अन्तिम दिन बुधबारसम्म सवा १६ लाखले आवेदन दिएका छन्।

धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटलका मार्केट्स लिमिटेडका अनुसार यो आईपीओमा १६ लाख २४ हजार ४८३ आवेदन परेको छ। ती आवेदनबाट कुल २ अर्ब ४५ करोड १६ लाख ६६ हजार रुपैयाँबराबरको अर्थात २ करोड ४५ लाख १६ हजार ६०० कित्ता खरिदका लागि आवेदन परेको छ। यो हिसाबले यो आईपीओमा मागभन्दा ९.०९ गुणा बढी आवेदन परेको छ। 

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा २ प्रतिशत अर्थात ५८ हजार कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भन ५ प्रतिशतले हुन आउने १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ। बाँकी २६ लाख ९७ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।

नेपाल धितोपत्र बोर्डले गत पुस २१ गते सिंगटी हाइड्रोलाई आयोजना प्रभावित र सर्वसाधारणका लागि कुल ४३ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति दिएको थियो। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका बिगु र कालिन्चोक गाउँपालिका बासिन्दाका लागि गत माघ ४ गतेदेखि फागुन ३ गतेसम्म कुल १४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको गरेको थियो।  

आईपीओ कम्पनीको चुक्तापुँजीको ३० प्रतिशतबराबरको रहेको छ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ।