काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओको अन्तिम नतिजा सार्वजनिक भएको छ। 

धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडको काठमाण्डौ त्रिपुरेश्वरस्थित कार्यालयमा आज शुक्रबार बिहान ११ बजे सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड गरिएको थियो। यो आईपीओको रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस् । 

सिंगटी हाइड्रोले गत चैत ६ गतेदेखि चैत १० गतेसम्म आईपीओ बिक्री गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा २ प्रतिशत अर्थात ५८ हजार कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भन ५ प्रतिशतले हुन आउने १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ। बाँकी २६ लाख ९७ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए। 

यो आईपीओमा कुल १५ लाख ६५ हजार ५३० आवेदकबाट कुल २ करोड २८ लाख ४९ हजार ६७० कित्ता सेयर माग भएको थियो। क्यापिटलका अनुसार कुल आवेदकमध्ये १५ लाख ५९ हजार ८०२ आवेदकबाट माग भएको २ करोड २७ लाख ६८ हजार २६० कित्ता सेयरमात्र सदर भएको थियो। बाँकी ५ हजार ७२८ आवेदकबाट माग भएको ८१ हजार ४१० कित्ता सेयर बदर भएको थियो। 

यो हिसाबले २ लाख ६९ हजार ७०० आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन्। कुल सदर आवेदकमध्ये १२ लाख ९० हजार १०२ को हात खाली भएको छ।