काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ।

कम्पनीले गत माघ ४ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ। 

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाको अतिप्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिका बासिन्दाका लागि गत माघ ४ गतेदेखि १४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको छ। कम्पनीले १०० रुपैयाँअंकित दरका कुल १४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो। यो आईपीओमा स्थानीयले न्यूनतम १० कित्ता र अधिकतममा २ लाख कित्तासम्म आवेदन दिन पाउनेछन्। 

स्थानीयले दोलखाको सिंगटीस्थित सेन्चुरी कमर्सियल बैंक, कालिञ्चोक गाउँपालिका वडा नं. २, दोलखास्थित सिंगटी हाइड्रोको कार्यालय, सिंगटीस्थित नेपाल बैंक र नेपाल धितोपत्र बोर्डबाट अनुपति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। 

नेपाल धितोपत्र बोर्डले गत पुस २१ गते सिंगटी हाइड्रोलाई आयोजना प्रभावित र सर्वसाधारणका लागि कुल ४३ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति दिएको थियो। कम्पनीले बाँकी २९ लाख कित्ता भने दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिने जनाएको छ। 

आईपीओ कम्पनीको चुक्तापुँजीको ३० प्रतिशतबराबरको हुनेछ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ।