काठमाण्डौ । ग्राहकले आईपीओको लागि आवेदन दिँदा बैंकले तोकेअनुरुप निश्चित शुल्क तिर्नुपर्छ। अहिले आस्बा शुल्क बैंकअनुसार फरक–फरक छ। 

नेपालमा अहिले सि–आस्बा सेवा बैंकहरुले निःशुल्कदेखि रु. १०० सम्म लिएर दिने गरेका छन्। नेपालमा अहिले २७ वटा वाणिज्य बैंकमध्ये सि–आस्बाको अधिकतम शुल्क स्ट्यान्डर्ड चार्टर्ड बैंकले रु. १०० लिने गरेको छ। नबिल, एनआईसी एसिया, सिद्धार्थ, ग्लोबल आइएमई, मेगा साथै राष्ट्रिय वाणिज्य बैंकहरुले निःशुल्क आस्बा सेवा दिँदै आएका छन्।

केही दिनअघि निःशुल्क सेवा दिँदै आएको सानिमा बैंकले सि–आस्बा चार्ज रु. २० को दरले लिने सार्वजनिक भएसँगै लगानीकर्तामाझ अहिले आस्बा चार्जबारे चर्चा सुरु भएको छ। ‘आईपीओमा आवेदन दियो कहिले पर्दैन’, एकजना लगानीकर्ता फेसबुकमा आक्रोश पोख्दै लेख्छन्, ‘अब त आवेदनको शुल्क पनि तिर्नुपर्ने रे। पर्दै नपर्ने आईपीओको शुल्क तिर्नुभन्दा डिम्याट र बैंक परिवर्तन गर्नु नै उचित हुन्छ।’  

सीडीएससीका प्रवक्ता सुरेश न्यौपाने नेपाल धितोपत्र बोर्डले सि–आस्बासम्बन्धी जारी गरेको निर्देशिकाअनुसार बैंक तथा वित्तीय संस्थाहरूले अधिकतम रु. १०० सम्म सि–आस्बा शुल्क लिन सक्ने व्यवस्था रहेको बताउँछन्। ‘बैंकहरुले सार्वजनिक सूचना जारी गरी निःशुल्क सेवा दिनुका साथै अधिकतम रु. १०० सम्म शुल्क लिन पाइने व्यवस्था छ’, उनले भने।