– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । भदौ र असोज महिना भनेको सेयर बजारमा पनि पाकेको बाली भित्र्याउने समय हो। गत आर्थिक वर्षमा कम्पनीहरुले कमाएको आम्दानीबाट लाभांश घोषणा पनि गर्ने यही नै समय हो। तर, पछिल्लोपटकको उच्च विन्दु २२४० बाट खसेको बजार आज करिब २९ अंकले घटेर १९३२ को विन्दु बन्द भएको छ। 

म्रौद्रिक नीति आएपछि सेयर बजार लगातार ७ हप्ता घटेको छ। यो अवधिमा बजारले ३०० अंक गुमाइसकेको छ। सिजनकै बेला बजार लगातार घट्दा ब्रोकर हाउसहरुमा भेटिएका लगानीकर्ता हायलकायल अवस्थामा देखिन्थे। 

मल्ल एन्ड मल्ल सेक्युरिटिज (स्टक ब्रोकर नं. ११)मा आज भेटिएका सबै लगानीकर्ता निराश थिए। केही लगानीकर्ता हाइड्रोको सेयरमा चर्लुम्मै डुबेको पीडा पोख्दै थिए भने केहीले आज पनि सेयर बजार राताम्मे भएको गुनासो गर्दै थिए। 

केही लगानीकर्ता भने बजारले निकै चोट दिएको भन्दै ब्रोकर हाउसमै भावुक हुँदै गीत गाउँदै थिए–‘कति चोट दिन्छौ देऊ मायालु...।’

केही लगानीकर्ता भने घटेको बजार हेर्नुभन्दा नागपोखरीमा घुमेर मन भुलाउन उपयुक्त हुने भन्दै बीच समयमै उठेर ब्रोकर हाउसबाट बाहिरिए। 

श्वेता सेक्युरिटिज (स्टक ब्रोकर नं. २५)मा पनि लगानीकर्ता घटेको बजार हेरेर सुस्ताउँदै थिए। त्यहाँ पनि लगानीकर्ताहरुमा चरम निराशा देखिन्थ्यो। 
यसरी बजार किन घटेको घट्यै छ ? के भए बजारले फेरि लय समात्न सक्छ ?

मल्ल एन्ड मल्ल सेक्युरिटिजका सञ्चालक परमेश्वरभक्त मल्लको विचारमा अहिले बजार यसरी घट्नुमा पहिलो कारण त राष्ट्र बैंकको नीति नै हो। ‘राष्ट्र बैंकले झटपट नीतिमा कुनै फेरबदल गर्दैन’, उनले भने। 

दोस्रो कारण भनेको केही हदसम्म लगानीकर्ताको पनि कमजोरी रहेको मल्लको भनाइ छ। ‘किनकि उनीहरु बढेको बजारमा मात्रै हाम फाल्छन्’, उनले भने, ‘अहिले घटेको बजारमा किन भन्यो भने मान्दै–मान्दैनन्। बजार बढेर टुप्पोमा पुगेको बेलामा भने नकिन भने पनि मान्दैनन्।’

बजार घट्न थालेपछि एकोहोरो बेच्ने र बढ्न थालेपछि पनि एकोहोरो किन्ने लगानीकर्ताहरुकै कारण पनि बजार बिग्रेको मल्लको ठम्याइ छ। ‘बजार धेरै घटिसक्यो, अब घट्ने क्रम रोकिन सक्छ’, उनले भने, ‘तर, त्यसका लागि भने अब बैंक तथा वित्तीय संस्थाहरुले घोषणा गर्ने लाभांशमा निर्भर छ। लाभांशले अब बजारको बाटो निर्धारण गर्नेछ।’ 

भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४)का सञ्चालक राजकुमार तिमिल्सिनाको विचारमा लगानीकर्ताको मनोबल खस्केका कारण बजार उठ्न नसकेको हो। ‘खासगरी माग र आपूर्तिको सन्तुलन नमिलेका कारण पनि बजार घटेको हो’, उनले भने, ‘नीतिगत अस्थिरता र ब्याजदर सोचेजस्तो नघट्नुजस्ता कारणले लगानीकर्ताको मनोबल घटेको छ। तर, सामाजिक सञ्जालहरुमा तीव्र दबाब पनि आएको छ। आज संसदमा पनि कुरा उठेको भन्ने मैले सुनेको छु। यसकारण अब बजार धेरै घट्ने देखिँदैन।’