काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वडा प्रहरी कार्यालय विर्ता, पर्सालाई मास्क, सेनिटाईजर तथा पञ्जा हस्तान्तरण गरेको छ । 

कोरोनाभाइरस (कोभिड–१९)ले विश्व नै आक्रान्त बनेको बेला संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले मास्क, पन्जा तथा सेनिटाईजर  प्रदान गरेको हो  । 

कोभिड १९ को महामारीलाई नियन्त्रण गर्ने सुरक्षा निकायको प्रयत्नलाई सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको कुरा बैंकले जानकारी दिएको छ । यस किसिमको सहयोगले कोरोना महामारीविरुद्ध लड्न सुरक्षा  निकायलाई केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 

यस अघि पनि कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा  बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेश सरकारले बनाएका कोषमा रु ७ लाखका दरले रु ४९ लाख तथा विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिब पाँच लाख गरी हालसम्म कुल ५४ लाखको सहयोग गरिसकेको छ । आगामी दिनमा समेत महामारी नियन्त्रण गर्न हरेक प्रकारको सहयोग गर्न तयार रहेको कुरा बैंकले जानकारी दिएको छ । 

सिटिजन्स बैंक इन्टरनेशनले लकडाउनको अवधिमा पनि ग्राहकको सुविधाका लागि अत्यावश्यक सेवाहरु जस्तोः नगद राख्ने झिक्ने सुविधा, रेमिट्यान्स, क्लियरिङ, एलसी, ग्यारेन्टी, टीटीलगायतका सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले सातै प्रदेशमा रहेका शाखाहरु मध्ये केही शाखाबाट प्रत्येक दिन बैंकिङ्ग सेवा दिँदै आएको छ । कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ ।

साथै यस बैंकको एटिएम कुनै पनि बैंकको एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।