काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले अब बैंकमा नगईकन मोबाइल बैंकिङको पिन रिसेट गर्ने सुविधाको सुरुआत गरेको छ।

यो सुविधाको सुरुआतसँगै अब बैंकका ग्राहकले मोबाइल बैंकिङको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुने भएका छन्। हालको विषम परिस्थितिलाई लक्षित गरी आफ्ना ग्राहकलाई सहज रुपमा आधारभूत बैंकिङ सेवा प्रदान गर्ने र डिजिटल माध्यमबाट कारोबार गर्न सहयोग पुर्याउने उद्देश्यका साथ यो सेवाको सुरुआत गरिएको बैंकले जनाएको छ। 

यसैगरी बैंकले कोरोना त्रास अझै कायमै रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई सकेसम्म बैंकमा नआइकनै बैंकिङ सुविधा प्राप्त गर्न सहज होस् भनी यस बैंकमा बचत खाता सञ्चालन गर्दै आएका ग्राहकलाई बैंकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कार्डलगायतका विद्युतीय भुक्तानीका माध्यमहरुमा पहिलो वर्षको शुल्क मिनाहा हुने व्यवस्थासमेत मिलाइएको बैंकले जनाएको छ। यस प्रकारको सेवाबाट बैंकका ग्राहकले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने र  डिजिटल बैंकिङ सभ्यताको विकास हुने बैंकको विश्वास छ।