काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकलाई वस्तु एवं सेवा खरिद गर्न सहज होस् भन्ने अभिप्रायका साथ देशभरका जुनसुकै मर्चेन्टहरूमा क्रेडिट कार्डमार्फत न्यूनतम रु. १० हजारदेखि अधिकतम रु. २ लाख ५० हजारसम्म भुक्तानी गर्दा उक्त खरिद रकमलाई मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न सकिने ‘इन्स्ट बाई’ योजना सञ्चालनमा ल्याएको छ। 

यस योजनाअन्तर्गत बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्तालाई एकैपटकमा खरिद गरिएको वस्तु तथा सेवाहरूको सम्पूर्ण खरिद रकम भुक्तानी गर्न एवं आफ्नो आयस्रोतअनुसारको किस्ता अवधि छनोट गर्न सकिने नवीनतम सुविधा ल्याइएको बैंकले जनाएको छ। यस योजनामार्फत ग्राहकले आफूले किन्न खाजेको वस्तु तथा सेवा तत्काल  खरिद गरी रकम किस्ताबन्दीमा बैंकलाई तिर्नसक्ने सुविधा प्राप्त गर्न सक्नेछन्। 

क्रेडिट कार्ड प्रयोगकर्ताले खरिद गर्ने वस्तु तथा सेवाको खरिद रकम न्यूनतम ३ देखि अधिकतम १८ महिनासम्मको अवधिभित्र भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ। ग्राहकले क्रेडिट कार्डमार्फत वस्तु तथा सेवा खरिद गरेपश्चात् आफूलाई पायक पर्ने बैंकको शाखा पुगेर किस्ताबन्दीका लागि आवेदन दिन सक्नेछन्। 

यस योजनामा सहभागी भई आकर्षक सुविधा प्राप्त गर्न चाहने नयाँ ग्राहकले क्रेडिट कार्डका लागि आवेदन दिन बैंकको कुनै पनि शाखा कार्यालय वा बैंकको वेबसाइटमार्फत जुनसुकै स्थानबाट जुनसुकै समयमा अनलाइन आवेदन दिनसमेत सक्नेछन्।