काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ सेवाको सुरुआत गरेको छ। 

बैंकले आफ्ना बैंकिङ सेवाहरु मोबाइल फोन वा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवाको सुरुआत गरेको हो। हालको मोबाइल बैंकिङ एपलाई स्तरोन्नति गर्दै बैंकले सिटिजन्स बैंकमा खाता भएका एवं नभएका ग्राहकलाई समेत लक्षित गर्दै बिना चेक ई–क्यास पठाउने, रकम जम्मा गर्नुअघि ई–भौचर प्रयोग गर्ने, बैंकमा अपोइन्टमेन्ट लिनेलगायतका सुविधा थप गरेको छ। यसका साथै ग्राहकले मुद्दति खाता खोल्ने, रेमिटेन्स पठाउने, खाताको विवरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने,  क्यूआर कोडमार्फत भुक्तानी गर्नेलगायतका उपयोगी सेवा प्राप्त गर्न सक्नेछन्। 

यस स्तरोन्नतिसँगै अब बैंकका ग्राहकले बैंकमा नगई मोबाइल वा कम्प्युटरका माध्यमबाट घरमै बसीबसी विभिन्न बैंकिङ सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ। 

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८३ वटा शाखा, १२१ वटा एटीएम र १११ वटा शाखारहित बैंकिङ इकाइबाट करिब साढे १२ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ। 

कोरोनाभाइरस महामारीबाट सम्पूर्ण विश्व नै आक्रान्त बनेको अवस्थामा बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकको वित्तीय आवश्यकता डिजिटल्ली प्रदान गरिरहेको छ। यसका साथै कोभिड त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई सकेसम्म बैंकमा नआइकनै बैंकिङ सुविधा प्राप्त गर्न सहज होस् भनी बैंकले मोबाइल बैंकिङको पिन नं. बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरुको थालनी गरेको छ। यस प्रकारको सेवाबाट बैंकका ग्राहकले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने र डिजिटल बैंकिङ सभ्यताको विकाससँगै कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।