काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड आजबाट सोह्रौँ वर्षमा प्रवेश गरेको छ। २०६४ वैशाख ७ गतेदेखि २० औँ वाणिज्य बैंकका रुपमा स्थापना भएको सिटिजन्स बैंकले १५ वर्ष पूरा गरी १६ वर्षमा प्रवेश गरेको हो।

वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजनसिंह भण्डारीले आफूहरुले संस्थागत सुशासनको उच्चतम मापदण्डहरु कायम राख्दै आएको र त्यसलाई निरन्तरता दिइने भन्ने कुरा स्वीकार गर्न पाउँदा आफूलाई असाध्यै खुसी लागेको बताए। ‘म ढुक्क हुन सक्छु कि हाम्रो व्यवस्थापन प्रक्रिया, संरचना र नीतिले हाम्रा मूल्य–मान्यतालाई पछ्याउन अनुमति दिन्छ’, उनले भने, ‘हामी हाम्रा ग्राहकको सेवा गर्नका लागि काम गर्छौं, यसैले हामी हाम्रा मूल्य–मान्यतालाई गम्भीर रुपमा लिन्छौँ र सही कुरा गर्न प्रतिबद्ध छौँ। यस सिद्धान्तप्रतिको हाम्रो समर्पण हाम्रो कम्पनीमा जनताको विश्वास कायम राख्ने कुञ्जी भएको हो। जुन हाम्रो दीर्घकालीन सफलताको अभिन्न अंग हो।’

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले मिसन टप टेन रणनीतिमार्फत बैंकले धेरै सूचकमा उल्लेखनीय सुधार गरेको बताए। ‘यसका साथै आगामी दिनमा वित्तीय क्षेत्रलाई द्रुत नवप्रवर्तन र थप आकार दिइनेछ’, उनले भने, ‘साथसाथै उद्देश्यलाई द्रुत रुपमा वास्तविकतामा परिणत गर्न बैंकलाई परिवर्तनात्मक रुपमा व्यक्तिगत पहँुचमा ल्याइनेछ।’

ग्राहकलाई धेरै च्यानलमार्फत कहीँ पनि र कुनै पनि समयमा व्यावसायिक वित्तीय सेवाहरु प्रदान गर्ने लक्ष्य बैंकले लिएको पोखरेलले बताए। ‘तसर्थ, बैंकले आफ्नो प्रक्रिया र प्रणालीलाई डिजिटल रुपान्तरण गर्ने आधार तयार गरिसकेको छ र बैंकको डिजिटल रुपान्तरण रणनीतिलाई निर्दिष्ट समयसीमा सहित डिजिटल रुपान्तरणका लागि २२ सम्भावित क्षेत्रहरु स्पष्ट रुपमा राखिएको छ। यसको कार्यान्वयन र सफलताका लागि जनता, प्रक्रिया र प्रविधिमा रणनीतिक काम गरिनेछ’, उनले भने, ‘साथसाथै बैंकभित्र डिजिटल संस्कृति अंगाल्नुको विकल्प छैन भन्नेमा मेरो दृढ विश्वास छ।’

यसै सिलसिलामा बैंकमा निरन्तर १५ वर्ष अनवरत सेवा प्रदान गरेका १५ जना कर्मचारीहरु तथा १० वर्ष अनवरत सेवा प्रदान गरेका ३६ जना कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान पदक’ वितरण गरिएको छ।

वार्षिकोत्सवका अवसरमा सातवटै प्रदेशमा आज बिहान प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो। त्यसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखीकरण हुने अपेक्षा बैंकले लिएको छ। 

यसका साथै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले ‘रतmदान नै जीवनदान’ भन्ने नारालाई सार्थक बनाउँदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केही हदसम्म भए पनि पूरा होस् भन्ने अभिप्रायका साथ नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा सातवटै प्रदेशका कुल २३ स्थानबाट करिब ४०० जना रक्तदाताको सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

यस १५ वर्षको अवधि पार गरिसक्दा बैंकले करिब १३ लाख ५५ हजार ग्राहकलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ।  

सातवटै प्रदेशमा फैलिएको १७४ वटा शाखामार्फत चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको कुल निक्षेप करिब १ खर्ब ४६ अर्व ६१ करोड रुपैयाँ रहेकोमा कर्जातर्फ १ खर्ब ३६ अर्ब ७२ करोड रुपैयाँ रहेको छ। यस अवधिमा करिब रु. १ अर्ब ५८ करोड ९६ लाख खुद मुनाफा गर्न बैंक सफल भएको छ।