काठमाण्डौ । डिजिटल बैंकिङ्गलाई सधैं प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १६ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक छुट योजनाहरु सार्वजनिक गरेको छ । 

वैशाख ७ गतेको वार्षिकोत्सवलाई लक्षित गर्दै बैंकले यही बैशाख १ गतेदेखि बैशाख ७ गतेसम्म एक साताका लागि लागू हुने गरी बैंकका विभिन्न क्यासलेस कारोवारमा भारी छुट र क्यासब्याक लगायतका योजनाहरु सार्बजनिक गरेको हो । 

सो योजनाअन्तर्गत डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईनमार्फत रु १००० वा बढीको कारोबार गर्दा १६ प्रतिशत वा बढीमा रु २०० सम्म क्यासब्याक दिइनेछ । 

यसैगरी क्यु आर कोडमार्फत भुक्तानी गर्ने ग्राहकहरुका लागि पनि रु ५०० वा बढीको कारोबार गर्दा १६ प्रतिशत वा बढीमा रु २०० सम्म क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ । 

डिजिटल भुक्तानीको अर्को माध्यम इ-कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधिभरमा इ-कम कार्ड लिन चाहने ग्राहकहरुलाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउनेछ । 

यसैगरी, बैंकले पुँजीबजारमा लगानीकर्ताको सहभागिता बढाउने हेतुले यस योजना अवधिभर ग्राहकहरुका लागि निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था समेत गरेको छ । साथै बैंकका निस्क्रिय खाता भएका ग्राहकहरुलाई समेत खाता सक्रिय गरी कार्ड वा मोबाइल बैंकिङ्गमार्फत रु ५०० वा बढीको कारोबार गर्दा एकमुष्ठ रु २०० सम्म क्यासब्याक प्रदान गरिने योजना सार्वजनिक गरेको छ ।

यस्ता नगदरहित कारोवारमा हुने छुट योजनाबाट डिजिटल बैंकिङको विकासमा टेवा पुग्नुका साथै ग्राहक वर्गहरुलाई समेत लाभ पुग्ने विश्वास बैंकले लिएको छ ।