काठमाण्डौ । ‘हजुरको प्रगतिको सहयात्री’ भन्ने नारालाई शीरोधार्य गरी अनवरत रुपले नेपाली जनताको घरदैलोमा सर्वसुलभ बैंकिङ सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिब एक दशकदेखि अबोध, अनाथ बालबालिकालाई लालनपालन, स्वास्थ्योपचार, शिक्षा, मनोरन्जन प्रदान गर्दै आएको बाल विकास समाजलाई आर्थिक सहयोगस्वरुप १ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ। 

बैंकले आफ्नो १६ औँ वार्षिकोत्सव यही वैशाख ७ गते मनाउँदैछ। सोही उपलक्ष्यमा यस संस्थालाई बैंकले आर्थिक सहयोग प्रदान गरेको हो।  

एक समारोहबीच बैंकले १ लाख ५० हजार हजार रुपैयाँ चेक संस्थाका कार्यक्रम इन्चार्ज गोविन्द विश्वकर्मालाई हस्तान्तरण गरेको छ। बाल विकास समाजमा रहेका १०० जना बालबालिकामध्ये १५ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका कार्यक्रम इन्चार्ज श्री गोविन्द विश्वकर्माले जानकारी दिए। 

हरेक वर्ष बैंकले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा सामाजिक रुपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ। यसैको निरन्तरतास्वरुप बैंकले आफ्नो वार्षिक कार्यतालिकाअनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक  आदिजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको कुरा जानकारी  गराएको छ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा एटीएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १५ लाख ४० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।