काठमाण्डौ । सत्रौँ वर्षमा प्रवेश गरेको सिटिजन्स बैंकले आफ्ना ग्राहकलाई थप सरलीकृत बैंकिङ अनुभव प्रदान गर्न आफ्नो नयाँ एआई च्याटबट सुविधा ‘नागरिका’ मस्कटका साथै सुरुआत गरेको छ।

बैंकमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले उक्त मस्कट सार्वजनिक गरेका छन् । बैंकले आगामी दिनमा आफ्ना उत्पादन तथा सेवाहरूमा सोही ब्रान्डको मस्कट प्रयोग गर्ने लक्ष्य लिएको छ।

च्याटबट एक एआईद्वारा सञ्चालित भर्चुअल सहायक हो। जसले ग्राहकसँग अन्तर्क्रिया गर्न प्राकृतिक भाषा प्रशोधन र मेसिन लर्निङ एल्गोरिदमहरु प्रयोग गर्दछ। यस सुविधाले ग्राहकलाई बैंकसँग सम्बन्धित जिज्ञासा र अनुरोधको तुरुन्त प्रतिक्रियाहरु प्राप्त गर्न सक्षम पार्छ। 

च्याटबटमार्फत ग्राहकले सरल र सहज संवादात्मक इन्टरफेसमार्फत विभिन्न बैंकिङ गतिविधि गर्न सक्छन् जस्तै– खाता मौज्दात जाँच, खाता खोल्न, उच्च ब्याज दर बुझ्न, सिटिजन्स एप सक्रिय गर्न, शाखा स्थान बुझ्न र अन्य धेरै सुविधा उपलब्ध छन्। ग्राहकले च्याटबटमा आफ्नो जिज्ञासा वा अनुरोध टाइप गरेर कुराकानी सुरु गर्न र उपयुक्त बैंकिङ सेवामा मार्गदर्शन प्राप्त गर्न सक्छन्। त्यसका साथै डाटा गोपनीयता र सुरक्षाका लागि बैंकको प्रतिबद्धताको एक भागका रुपमा च्याटबटले ग्राहकको जानकारी सुरक्षितसमेत गर्दछ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउन्टर,  १३८ वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १५ लाख ४० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।