काठमाण्डौ। विगत १७ वर्षदेखि निरन्तर उत्तरदायी बैंकिङ सेवा प्रदान गर्दै आइरहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर, बटरफ्लाई होम र  जुवेनाइल करेक्सनमा रहेका बालिकाको सरसफाइको आवश्यकतालाई मध्यनजर गर्दै २ वर्षको सेनेटरी प्याडका  साथसाथै तीनवटा सेनेटरी भेन्डिङ मेसिन उपलब्ध गराएको छ। 

बैंकले बालिकाहरुको सरसफाइ आवश्यकताहरु सुरक्षित गर्न र उनीहरुले सामना गर्ने चुनौतीलाई कम गर्ने उद्देश्यले गैरनाफामूलक संस्थाकी संस्थापक अध्यक्ष पुष्पा बस्नेतलाई एक समरोहबीच ती सामग्री हस्तान्तरण गरेको हो। 

सोही कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले संस्थाको मान्यता प्रत्येक बालिकाको महिनावारी स्वास्थ्य व्यवस्थापन, उचित सरसफाइ सुविधा र आवश्यक स्रोतहरुमा पहुँच हुनुपर्छ भन्ने रहेको बताइन्। उनले सोही  उद्देश्यले सिटिजन्स  बैंकले सहयोग प्रदान गरेकोमा धन्यवाद दिइन्। 

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि नै देशका विभिन्न स्थानमा स्वस्थ शिविर सञ्चालन, समुदायिक विद्यालय एवं मठमन्दिरमा सहयोगहरु गरिसकेको छ। 

हाल सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउन्टर, १४० वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट  करिब १५ लाख ८० हजार ग्राहकलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवाहरु प्रदान गर्दै आइरहेको छ।