काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत करिब एक दशकदेखि अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग स्वरुप १ लाख ३२ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ। 

साथले सीमान्तकृत समूहका बालबालिकालाई हेरचाह गर्दछ। जहाँ आर्थिक रुपमा विपन्न र शारीरिक अपांगता भएका बालबालिकालाई उचित शिक्षा र स्वास्थ्य उपचार प्रदान गर्न मद्दत गर्दछ।

यसका साथै संस्थाले बचत खाता खोली वार्षिक रुपमा निश्चित रकम जम्मा गर्ने गर्दछ। सोही रकमबाट ती बालबालिकाको शिक्षा, स्वास्थ्यलगायतका अवश्यक क्षेत्रमा प्रयोग गर्दछ।

एक समारोहबीच बैंकले उक्त रकमबराबरको चेक ‘साथ’की कार्यक्रम प्रबन्धक समीक्षा शर्मालाई हस्तान्तरण गरेको हो। साथ हकुना मटाटामा रहेका ११ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गरिने शर्माले जानकारी दिइन्। 

‘हजुरको प्रगतिको सहयात्री’ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रुपले नेपाली जनताको घरदैलोमा सर्वसुलभ बैंकिङ सेवा पुर्याउँदै आएको बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जनाएको छ। 

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८५ वटा शाखा, १४१ वटा एटीएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट  १५ लाख ९० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।