काठमाण्डौ । सिटी होटल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओमा बुधबार साँझसम्ममा १७ हजार ३५१ जनाले आवेदन दिएका छन् । 

कम्पनीले गत चैत २१ गतेबाट विदेशमा रहेका श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको हो। होटेलले जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १६ करोड ७४ लाख रुपैयाँबराबरको आईपीओ सर्वसाधारणका लागि जारी गर्न लागेको छ । जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल १६ लाख ७४ कित्ता आईपीओ बिक्री गरिनेछ। 

कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने १ लाख ६७ हजार ४०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिएको हो। 

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बुधबार साँझसम्म यो आईपीओमा विदेशमा रहेका १७ हजार ३५१ श्रमिकबाट कुल ५ लाख १० हजार ५४० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ३.०४ गुणाले बढी हो।

विदेशमा रहेका नेपाली श्रमिकले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्। 

वैदेशिक रोजगारीमा रहेका श्रमिकले यो आईपीओमा वैशाख ५ गतेसम्म आवेदन दिन पाउनेछन्। 

सिटी होटलले सर्वसाधारणका लागि भने आउँदो वैशाख २५ गतेदेखि आईपीओ बिक्री खुला गर्नेछ। जारी पुँजीको ४ प्रतिशतले हुन आउने ६६ हजार ९६० कित्ता कर्मचारी र ५ प्रतिशतले हुन आउने ८३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी १३ लाख ५५ हजार ९४० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।