काठमाण्डौ । सिटी होटल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज वैशाख ५ गते अन्तिम दिन रहेको छ। 

कम्पनीले गत चैत २१ गतेबाट विदेशमा रहेका श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको छ। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिने व्यवस्था गरिएको छ। 

होटलले जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १६ करोड ७४ लाख रुपैयाँबराबरको आईपीओ सर्वसाधारणका लागि जारी गर्न लागेको छ । जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल १६ लाख ७४ कित्ता आईपीओ बिक्री गरिनेछ। 

कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने १ लाख ६७ हजार ४०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिएको हो। 

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार हिजो साँझसम्म यो आईपीओमा विदेशमा रहेका १९ हजार २०२ श्रमिकबाट कुल ५ लाख ५७ हजार ७०० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ३.३३ गुणाले बढी हो।

विदेशमा रहेका नेपाली श्रमिकले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्। 

सिटी होटलले सर्वसाधारणका लागि भने आउँदो वैशाख २५ गतेदेखि आईपीओ बिक्री खुला गर्नेछ। जारी पुँजीको ४ प्रतिशतले हुन आउने ६६ हजार ९६० कित्ता कर्मचारी र ५ प्रतिशतले हुन आउने ८३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी १३ लाख ५५ हजार ९४० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। 

सर्वसाधारणले पनि यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्। 
सर्वसाधारणका जारी हुने आईपीओ निष्कासन बन्द भने छिटोमा वैशाख २८ गते र ढिलोमा जेठ ८ गते बैंकिङ समयपछि हुनेछ।