काठमाण्डौ । सिटी होटल लिमिटेडको आईपीओ निष्कासनको दोस्रो दिन बुधबार (वैशाख २७ गते) सम्म ५.९५ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।

सिटी होटलले कुल १६ लाख ७४ हजार कित्ता आईपीओ बिक्रीको अनुमति पाएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ६७ हजार ४०० कित्ता विदेशमा रहेका श्रमिकका लागि बिक्री गरिसकिएको छ। 

अब ४ प्रतिशतले हुन आउने ६६ हजार ९६० कित्ता कर्मचारी र ५ प्रतिशतले हुन आउने ८३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी १३ लाख ५५ हजार ९४० कित्तामा सर्वसाधारणका लागि कम्पनीले गत वैशाख २५ गतेबाट आवेदन खुला गरेको छ। 

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार बुधबार साँझ साढे ५ बजेसम्म यो आईपीओमा ७ लाख २४ हजार ६३९ आवेदकबाट कुल ८० लाख ७६ हजार ४०० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ५.९५ गुणा बढी हो। 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ। जसमा भाग्यमानी १ लाख ३५ हजार ५९४ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।

सर्वसाधारणले पनि यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्। 
सर्वसाधारणका जारी हुने आईपीओ निष्कासन बन्द भने अब वैशाख २८ गते हुनेछ।