-भक्तराज रसाइली 
काठमाण्डौ । भारित औसत लागत विधि गणना सहजताका लागि सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले  गत सोमबारबाट ‘‘मेरो सेयर’ पोर्टलमार्फत  सुरु गरेको नयाँ फिचर अव्यवहारिक र झन्झटिलो भएपछि लगानीकर्ताहरु पुनः ब्रोकर कार्यालयमा डीआईएस (डेबिट इन्स्ट्रक्सन स्लिप) नै  लिएर जानुपर्ने अवस्था सिर्जना भएको छ । 

साउन  १ गते यता लाभकर घोषणाका लागि ब्रोकरकहाँ गई औंठाछाप लगाउनुपर्ने बाध्यता अन्त गर्दै गत सोमबारदेखि विद्युतीय माध्यमबाटै सेयर हस्तान्तरण गर्दा डिम्याट खाता रहेको सम्बन्धित व्यक्तिले भएभरका सबै कम्पनीहरुको भारित औसत लागत अपडेट गर्नुपर्ने भएको भन्दै लगानीकर्ता र ब्रोकरहरुले तीव्र असन्तुष्टि पोखेका छन् ।

मल्टिपल लगइन लिएकाहरुलाई पनि कुनै सम्बोधन नगरेको ‘मेरो सेयर’को नयाँ सिस्टममा सबै कम्पनीका सेयरको भारित औसत लागत अद्यावधिक गर्नुभन्दा ब्रोकर कार्यालयमै उपस्थित भर्इ औंठछाप लगाउनेको भीड बढ्न थालेको ब्रोकरहरुको भनार्इ छ। 

सबै कम्पनीका लागत अपडेट गर्न समय लाग्ने र अभ्यस्त सिस्टम नभएकाले सिडिएससीले बनाएको नयाँ फिचरसमेत बालुवामा पानी हालेसरह भएको बताइन्छ । 

हुन पनि प्राथमिक बजारबाट खरिद गरिएका सेयरहरु अटोमेटिक रुपैयाँ १ सय बनाई सिडिएससीले नै गर्नसक्थ्यो, तर उसले त्यो सुविधाको व्यवस्था नगरिदिंदा लगानीकर्ताहरुमा समेत अन्यौल भइरहेको छ भने ब्रोकरहरुको समेत निक्कै टाउको दुखाइको विषय बनिरहेको बताइन्छ ।

सिडिएससीले सेयर लगानीकर्ताहरु आफैंले धितोपत्रको भारित औसत लागत ‘मेरो सेयर’ पोर्टलमार्फत राफसाफ सदस्यलाई विद्युतीय माध्यमबाट उपलब्ध गराउने प्रविधिमैत्री बन्न नसक्दा सो संस्थाकै छविमा समेत  निरन्तर ह्रास आइरहेको  छ ।

डिम्याट खातामा रहेको सम्पूर्ण सेयरको औसत लागत अद्यावधिक नगरेसम्म बिक्री पश्चात् ‘मेरो सेयर’ पोर्टलबाट ईडीआईएस (इलेक्ट्रोनिक डेबिट इन्स्ट्रक्सन स्लिप) गर्न नमिल्ने भएकाले ‘माई पर्चेस सोर्स’ अप्सनमा भारित औसत अपडेट गर्नु परेको छ।

सेयर बिक्री पश्चात् समयमा नै डीआईएस तथा भारित औसत लागत विवरण उपलब्ध गराउन नसके घाटामै पनि लगानीकर्ताहरुले लाभकर बुझाउनु परेको गुनासो बढिरहेको छ। 

सो नयाँ सिस्टम अनुसार अद्यावधिक गरिएपछि पुनः सच्याउन तथा परिवर्तन गर्न नमिल्ने हुनाले बोनस, हकप्रद, मर्जरपछिको आधारमूल्य अद्यावधिक गर्दा समेत निकै ध्यान दिनुपर्ने भएको बताइन्छ ।