-भक्तराज रसाइली
काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले डिम्याट नवीकरण शूल्क अनधिकृत रूपमा उठाएर डीपीहरुलाई मर्कामा पारेको रहस्य खुलेको छ ।
नेपाल धितोपत्र बोर्डस्थित बिजशाला स्रोतकाअनुसार डिम्याट नवीकरण नगर्ने ग्राहकको डिम्याट नवीकरण शुल्क समेत डीपीबाट असूल्ने गरेको रहस्य खुलेको हो ।
हाल सिडिएससीको तथ्याङ्कअनुसार देशभर करिब १५ लाख डिम्याट खाताहरु रहेका छन् । डिम्याट खाता खोलेपछि प्रत्येक वर्ष त्यसको नवीकरण गर्नुपर्छ, जसका लागि केही निश्चित शुल्क लिने प्रावधान राखिएको छ । डिम्याट खाता खोल्ने कुनै ग्राहकले नवीकरण गर्न चाहेर पनि नवीकरण गर्न नसक्ने अवस्था हुनसक्छ । तर, सिडिएससीले भने डिम्याट खाता खोल्ने डीपीलाई ऊमार्फत खोलिएको डिम्याट खाताको धनीले नवीकरण गर्न नसक्ने कारणको खोजी नै नगरी र त्यस्तो सिस्टमको विकास नै नगरी प्रत्येक वर्ष डिपीबाटै सो खाताको नवीकरण शुल्क समेत असूल्ने गरेको देखिएको हो ।
स्रोतले डिम्याट नवीकरण नगर्नेको खाता सिस्टमबाटै अलर्ट जाने वा सेवा अवरुद्ध गर्न सक्ने व्यवस्था लागू गरेमा यो समस्या निराकरण हुने भए पनि त्यसतर्फ सिडिएससीले ध्यान दिएको छैन ।
अझ रोचक पक्ष त सिडिएसको सिस्टममा कुनै डिम्याटधारीले एकैचोटि अग्रिम २–३ वर्षको डिम्याट नवीकरण शूल्क तिर्न सक्ने व्यवस्था समेत नभएको एक डीपीमा कार्यरत कर्मचारीले बताए ।
सिडिएसले ‘मेरो सेयर’मा नवीकरणका लागि अलर्ट र सेवा अवरुद्धको फिचर हालेको छ । तर डिम्याटमा भने यो सिस्टम लागू गर्ने चाहना नदेखाएको डिपीमा कार्यरत कर्मचारी बताउँछन् ।
‘मेरो सेयरमा रहेको फिचर नै डिम्याटमा किन लागू गर्न नसक्ने ? यसमा सिडिएससीले गडबडी गर्न खोजेको देखिन्छ ।’ एक डिपीका कर्मचारीले बिजशालासँग भने–‘उसले त हाम्रो डिम्याट खाता खोल्ने ग्राहकले रिन्यू गरे पनि नगरे पनि साउन १५ गतेभित्र शुल्क उठाईहाल्छ, तर हामीलाईं भने डिम्याट नवीकरणको शूल्क उठाउन हम्मेहम्मे पर्छ ।’
सिडिएसबाट लाइसेन्स पाएका ७० वटा डीपीहरुबाट डिम्याटधारीले नवीकरण नगरे पनि नयाँ आर्थिक वर्षको सुरुवातको १५ दिनभित्र नवीकरण शुल्कबापत १ सय रुपैयाँमध्ये १० रुपैयाँ असूल उपर गरिरहेको बिजशाला स्रोतको दाबी छ ।
नयाँ डिम्याट खाता खोल्दा ५० रुपैयाँ, नवीकरणका लागि १० रुपैयाँ, ‘मेरो सेयर’मा २५ रुपैयाँ, बीओटूबीओ ट्रान्सफर १ सय रुपैयाँ, आईपीओ सेयर प्रत्येक डिम्याट खातामा हालेको ९ रुपैयाँ लगायतका थुप्रै सेवाशूल्क लिईरहेको सिडिएसले हाल शूल्क उठाएबमोजिमको सुविधा दिन नसकिरहेको र सिडिएसकै ‘मेरो सेयर’ पोर्टलमा सधैंजसो समस्याहरू झेल्नुपरेको लगानीकर्ताहरुको आरोप छ ।
यसरी हेर्दा सिडिएससीले डिम्याट खाताको नवीकरणबापत मात्रै वार्षिक १ करोड ५० लाख आर्जन गर्ने गर्छ ।
डिपी सेवा संचालन गरिरहेका ब्रोकरहरुबाट त्यहाँ खोलिएको डिम्याटको नवीकरण शुल्कअन्तर्गत आफ्नो भाग सिडिएससीले एकमुष्ट उठाए पनि ब्रोकरले भने लगानीकर्ता(डिम्याटधारी)बाट समयमै भुक्तानी पाउँदैनन् । आफ्नो भाग लिएर चूपचाप बस्ने सिडिएससीले डिम्याट खाताको नवीकरणका लागि समेत सिस्टममै अलर्ट सेवा राखिदिने हो भने डिम्याटधारीले बेलैमा आफ्नो खाताको नवीकरण सम्बन्धी सूचना पाई समयमै भुक्तानी गर्ने अवस्था हुने डिपी संचालकहरु बताउँछन् ।
‘डिम्याट खाता नवीकरणका लागि भन्दै हामीले डिम्याटधारीलाई बारम्बार फोन गर्नुपर्छ, हाम्रो भागमा आउने रकमभन्दा बढी खर्च हुने गरी नवीकरणका लागि खातावाललाई फोन गर्नुपर्ने बाध्यता छ ।’ एक डिपी संचालकले भने–‘मेरो सेयरमा झै अलर्ट सुविधा भइदिए हामीलाई सहज हुने थियो ।’
डिपी, बोर्ड लगायतले पाउने आम्दानीलाई समेत जोड्ने हो भने प्रत्येक वर्ष डिम्याट खाताको नवीकरणकै लागि सर्वसाधारण लगानीकर्ताले १५ करोड रुपैयाँ खर्च गर्नुपर्ने अवस्था देखिन्छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago