काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा रिक्त सीइओ पदपूर्तिका लागि सिफारिस समिति गठन हुने भएको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडको रिक्त सीइओ पदका लागि नेप्सेका कामुु प्रबन्धक निरञ्जन फुँयालको संयोजकत्वमा कमिटी गठन हुने भएको हो ।

स्रोतका अनुुसार गत साता शुक्रबार बसेको सिडिएससीको सञ्चालक समितिले नेप्सेका कामु प्रबन्धक तथा सिडिएससीका सञ्चालकसमेत रहेका निरञ्जन फँुयाल नवनियुक्त सीइओ नियुक्तिका लागि संयोजकका रुपमा गर्ने निर्णय गरेको छ । फुँयाल नेतृत्वको कमिटीमा को–को रहने भन्ने विषयमा खुलिसकेको छैन । 

स्रोतका अनुसार कमिटी गठनले पूर्णता पाउन अझै एक हप्ता लाग्नेछ । कमिटीमा अर्थमन्त्रालयका प्रतिनिधि, नियामक नेपाल धितोपत्र बोर्डका प्रतिनिधि र मानव संसाधन व्यवस्थापन विज्ञ रहने बताइएको छ भने सिडिएससीले नवनियुक्त सीइओ करिब डेढ महिनाभित्र पाइसक्ने स्रोतले दाबी समेत गरेको छ ।

नेप्सेको शतप्रतिशत लगानी रहेको सिडिएससी विगत ३ महिनादेखि सीइओविहीन छ, तर दैनिक काम कार्यबाहीको सहजताका लागि सञ्चालक समितिले सिडिएससीमै कार्यरत सहायक प्रबन्धक कञ्चन सापकोटाले कार्यवाहक सीइओको जिम्मेवारी सम्हाल्दै आएकी छिन् । 

सिडीएससीको सञ्चालक समितिले सिडिएससीमा प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने व्यवस्था छ । नेप्सेको शतप्रतिशत स्वामित्व भएको सिडीएससीको बोर्ड अध्यक्षमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का सीइओ चन्द्र सिंह साउद छन् भने नेप्सेका निरञ्जन फुँयाल, प्रवीण पन्धाक र मुराहरी पराजुली सञ्चालक छन् ।