काठमाण्डौ । ‘मेरो सेयर’मा पटक–पटक आइरहने गडबडीका कारण लगानीकर्ता हैरान छन् । आइपीओको रिजल्ट आउने दिन ‘मेरो सेयर’ चल्दै नचल्ने समस्या सिडिएस एण्ड क्लियरिङ लिमीटेडले समाधान गरे पनि आइपीओ खुलेपछि गरिने आवेदन तथा धेरै लगानीकर्ता दोश्रो बजारमा प्रवेश गर्दा उनीहरुका कारण ‘मेरो सेयर’को सर्भरमा परेको दवाबको समस्या भने समाधान हुन सकेको छैन । 

‘मेरो सेयर’मा पटक–पटक आइरहने समस्याका कारण लगानीकर्ता जति हैरानीमा छन्, सिडिएससीको व्यवस्थापन पक्ष समेत अब यो समस्याको दीर्घकालीन समाधान खोज्ने विषयमा उति नै गम्भीर बनेको पाइएको छ । यही विषयलाई मध्यनजर गर्दै सिडिएससीले ‘मेरो सेयर’मा ७० लाखसम्म प्रयोगकर्ता हुँदा समेत कुनै समस्या नआउने गरी भरपर्दो समाधानको बाटो खोजेको छ । यसका लागि सिडिएससीले ठूलो क्षमताको सफ्टवेयर र हार्डवेयरको पूर्वाधार निर्माणका लागि काम गर्ने गरी आवश्यक तयारीलाई अगाडि बढाएको छ । 

सिडिएससीका प्रमुख पूर्णप्रसाद आचार्यका अनुसार अहिलेको ‘मेरो सेयर’को सर्भरले रियलटाइममा बढीमा ४० हजार प्रयोगकर्ता मात्र धानिरहेको छ । हाल मेरो सेयरका सक्रिय प्रयोगकर्ता साढे २२ लाख छन् । अब सिडिएससीले यसलाई बढाएर ७० लाख सक्रिय प्रयोगकर्ता हुँदा समेत सिस्टम ह्याङ नहुने गरी आवश्यक तयारी अगाडि बढाएको छ । ‘अब हामी दुईवटा ठूला सर्भर हालेर मेरो सेयरमा आइरहने समस्याको स्थायी समाधान खोज्नेछौं ।’ उनले बिजशालासँग भने–‘आगामी मंसिरदेखि ठूलो क्षमताको सर्भरजडित मेरो सेयर संचालनमा आइसक्नेछ ।’ 

सिडिएससीले ‘मेरो सेयर’सँगै सेन्ट्रल केवाइसीको प्लेटफर्म समेत तयार गरिरहेको छ । ‘यी दुवै सिस्टमलाई धान्ने गरी निकै ठूलो क्षमताको सफ्टवेयर र हार्डवेयर तयार गर्ने गरी आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको छ ।’ आचार्यले भने–‘केवाइसीका लागि बिडिङमा जाने तयारी भइरहेको छ । हामी ७० लाखसम्मलाई थेग्ने गरी बलियो पूर्वाधार बनाउनेछौं ।’ 

हाल ‘मेरो सेयर’ प्रयोगकर्तामध्ये सबैभन्दा बढी प्रदेश नम्बर ३ का छन् । यहाँ कुल प्रयोगकर्तामध्ये ५२ प्रतिशत छन् । प्रदेश नम्बर १ बाट १७ प्रतिशत प्रयोगकर्ता छन् । तेश्रो नम्बर १२ प्रतिशतसहित प्रदेश नम्बर २ छ । त्यसपछि अन्य प्रदेशहरुको होल्ड छ । यो विषयलाई समेत ध्यानमा राखेर सिस्टम तयार हुने उनको भनाई छ । 

यसअघि १० लाख डिम्याट खाता हुँदा तयार गरिएको सिस्टमले नै हाल ३२ लाख बढीलाई समेत धान्ने बाध्यताका कारण समेत ‘मेरो सेयर’मा पटक–पटक समस्या आउने गरेको सिडिएससीको दाबी छ । ‘तर अब हामी यसको स्थायी समाधानका लागि आवश्यक सफ्टवेयर र हार्डवेयरमा खर्च गर्दैछौं ।’ आचार्यले भने–‘३६ खर्ब क्यापिटलाइजेसन भएको जनताको पैसाको रेकर्ड राख्ने कुरामा खेलाँची गर्नुहुन्न भन्ने कुरामा हामी प्रष्ट छौं ।’ 

उनका अनुसार ‘मेरो सेयर’को क्षमता वृद्धि र सेन्ट्रल केवाइसीको महत्वकांक्षी प्रोजेक्ट कार्यान्वयनमा आउँदासम्म बढीमा ३० करोड रुपैयाँसम्म लगानी हुनसक्छ । यी दुवै प्रोजेक्ट आगामी मंसिरसम्ममा कार्यान्वयनमा आइसक्नेछन् ।