काठमाण्डौ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड(सीडीएससी)का नवनियुक्त सीइओ पूर्णप्रसाद आचार्यले धितोपत्र कारोबारको राफसाफलाई टी प्लस टू बनाउने र डिजीटल केवाइसी लागू गर्ने बताएका छन् । 

सीइओको रुपमा हिजो सपथ लिएका आचार्यले हाल कायम राफसाफको टीप्लस थ्रीको चक्रलाई घटाएर टीप्लस टू बनाउने योजना सुनाएका हुन् । 

उनले आफ्नो कार्यकालमा डिजिटल केवाइसी पनि लागू गर्ने योजना सुनाए । 

नीतिगत र संस्थागत संरचनालाई समयसापेक्ष बनाउन पनि आफ्नो कार्यकालमा प्राथमिकतामा राखेको आचार्यले बताए । ऐन विनियमलाई पनि समयानुसार संसोधन गर्ने र संस्थालाई आत्मनिर्भर बनाउनेतर्फ  जोड दिने उनको भनाई छ । 

सीडीएससीको आम्दानीको दायरालाई बढाउने र संस्थामा स्वदेशी तथा बिदेशी रणनीतिक साझेदार भित्र्याउन समेत पहल गर्ने  योजना सुनाए । नयाँ प्रविधिलाई अपग्रेड गरी सीडीएससीलाई थप प्रभावकारी बनाउन जोड दिइने उनको योजना छ ।

सेयर बजारमा प्रवेश गर्न आवश्यक डिम्याट खाता काठमाण्डौं उपत्यका केन्द्रित भएको जिकिर गर्दै देशभर पहुँच पुर्याउने उनको अभिलाषा छ । आफूले बनाएका योजना, नीति तथा कार्यक्रममा सीडीएससी टिमको साथ र सहयोग रहने उनको आशा छ । 

आचार्यले सीडीएससीको प्रविधिमार्फत लगानीकर्तालाई थप मजबुत सम्बन्ध दिलाउन भगीरथ प्रयत्न गर्ने प्रतिवद्धता जाहेर गरे । 'गुणस्तरमा आधारित सेवा दिनका निम्ति हाम्रो सीडीएससीको टिम सदैव सरोकारवालासँग सकारात्मक सल्लाह र सुझावको आशा राख्दछौं ।' नवनियुक्त सीइओ आचार्य भन्छन्-'गुणस्तरमा आधारित सेवा र सुरक्षाको प्रत्याभूति दिन तल्लीन छौं । लगानीकर्ताहरुको डेटाको गोपनीयतामा पनि हामी चनाखौं छौं ।' 

नजिकबाट आचार्य
नेप्सेका प्रबन्धक निरञ्जन फूयाँलको संयोजकत्वमा गठित छनोट समितिले ३ जनाको नाम सिफारिस गरेपछि गत सोमबार सीडीएससीको सञ्चालक समितिले आचार्यलाई सर्वोत्कृष्ट ठहर गरी सीइओ नियुक्त गरेको थियो । मंगलबार  सीडीएससीको सञ्चालक समितिका अध्यक्ष चन्द्रसिंह साउदले नवनियुक्त अध्यक्ष आचार्यलाई पद तथा गोपनियताको सपथ ग्रहणसमेत गरे ।

बुधबारबाटै नवनियक्त अध्यक्ष पूर्णप्रसाद आचार्यले पुतलीसडकस्थित सीडीएससीमा उपस्थित कार्यभार सम्हाले । 

नवनियुक्त अध्यक्ष आचार्यको स्थायी घर इलाम मंगलबारे हो भने हाल उनी काठमाण्डौ बौद्धका बासिन्दा हुन् । उनले तथ्यांकशास्त्र र व्यवस्थापन दुवै विषयमा डिग्री हासिल गरेका छन् । कृषि विकास बैंकमा उपमहाप्रबन्धक पदबाट गत असोजमा रिटायर्ड भएका उनीसँग ३० वर्षे बैंकिंग अनुभव छ । 

बैंकका कर्मचारी भएपछि सेयर बजारमा थोरबहुत सामीप्यता रहेको आचार्य बताउँछन् । बैंकका कर्मचारी भएकाले प्राथमिक निष्कासनमा भने उनले सहभागिता जनाउँदै आइरहेको सुनाए । तर, कुनै पनि इन्भेष्टमेन्ट कम्पनीमा रहेर सेयर लगानी भने नगरेको उनको दाबी छ ।