काठमाण्डौ । केही समयअघि कास्की र ०६५ सालमा सुनसरीको बराहक्षेत्रमा ९ दिनसम्म बिनाअक्सिजन भू–समाधिमा बसेर एकाएक चर्चामा आएका र सोसँगै अनेकन विवादमा तानिएका सिद्धबाबा उर्फ कृष्णदास महाराज(कृष्णबहादुर गिरी) पनि नक्कली डाक्टर भएको रहस्य खुलेको छ । 

उनले लामो समयदेखि आफूले जर्मनबाट डाक्टरी गरेको भन्दै आफ्नो नाम  अगाडि डा. लेख्ने गरेका छन् । तर उनी वास्तवमा डाक्टर नै नभएका र सो सम्बन्धी कुनै पनि अध्ययन नभएको रहस्य खुलेको हो । उनको पारिवारिक स्रोतकाअनुसार सिद्धबाबाको नेपालमा औपचारिक पढाई ८ कक्षा मात्र हो । ८ कक्षा पढ्दा पढ्दै भारततर्फ लागेका उनले त्यहाँ केही समय संस्कृतको औपचारिक शिक्षा लिएका, केही नाम चलेका वैद्यको समीपमा रहेर काम गरेका भए पनि औपचारिक रुपमा डाक्टर बन्ने शिक्षा नलिएका स्रोतले दाबी गरेको हो । 

केही दिनअघि मात्रै पूर्वाञ्चलको क्षेत्रीय स्तरको मकालू टेलिभिजनमा सिद्धबाबाको मातापिता सम्बन्धी रिपोर्ट ‘इतिवृतान्त’ नामको कार्यक्रममा प्रसारण भएको थियो । सो क्रममा पनि सिद्धबाबाले आफूलाई डाक्टर बताएका थिए । उनलाई त्यहाँ पनि ‘श्री श्री १००८ डा. कृष्णदास महाराज’ भनिएको छ । 

स्रोतका अनुसार उनी सोलुखुम्बुको जुबु गाविसमा अवस्थित जनकल्याण उच्च माविमा ८ कक्षा पढ्दा पढ्दै छाडेर भारततर्फ गएका हुन् । भारतका विभिन्न आश्रममा गएर उनले काम गरे । त्यसपछि लामो समयमा उनी नेपाल फर्कदा आफूले डाक्टरी मात्र होइन, चारवटा बिषयमा डिग्री स्तरको पढाई पूरा गरेको भन्ने गरेका छन् । तर उनको त्यस्ता दाबी पनि झूठा रहेका स्रोत बताउँछ । 

सिद्धबाबाले आफूले ज्योतिषीचार्य, आयुर्वेदचार्य, व्याकरणचार्य(संस्कृत) र योगाचार्य उपाधि हासिल गरेको बताउने गरेका छन् । तर त्यसको सक्कली सर्टिफिकेट भने उनीसँग नरहेको दाबी स्रोतले गरेको छ । 

उनले विगत सन् २००८ अघिदेखि नै आफ्नो नामको अगाडि डा. लेख्ने गरेका छन् । उनले आफूले जर्मनको पेन्सिल भेनी नामको विश्वविद्यालयबाट वनस्पति विज्ञानमा पिएचडी गरेको दाबी गर्ने गरेका छन् । तर उनी जर्मन त के, २००८ पछि मात्रै विदेशको नाममा भारत बाहेक एकपटक दुबई गएका स्रोतको दाबी छ । ‘उनको भारतपछिको पहिलो विदेश भ्रमण नै २००८ पछि दुबईमा भएको थियो ।’ स्रोतले भन्यो–‘त्यहाँ पनि उनी भारतीय पासपोर्टबाट गएका थिए ।’ उनको नेपाली पासपोर्ट त्यसपछि मात्र बनेको हो । 

उनीसँग आयुर्वेद र योगहरुको बिषयमा प्रयोगात्मक ज्ञान भने राम्रै छ । तर त्यससम्बन्धी एकेडेमिक डिग्री छैन । तर उनीसँग भारतबाट शास्त्री र आचार्य गरेको डकूमेन्ट भने छ । ‘ती डकूमेन्ट पनि सक्कली होइनन् ।’ उनको पारिवारिक स्रोतले दाबी गर्दै भनेको छ–‘उनले जुन–जुन कलेजबाट सर्टिफिकेट बनाएका छन्, ती कुनै पनि कलेजमा तत्सम्बन्धी रेकर्ड भेटिन्न, छैन ।’ आफूलाई कहिल्यै आचार्य, कहिले मेडिसिन डाक्टर समेत भन्न रुचाउने सिद्धबाबालाई राजस्थानको एक ज्योतिषीय संस्थाले सर्टिफिकेट भने दिएको छ, तर त्यसको आधारमा डाक्टर लेख्न पाइन्न । 

स्रोतका अनुसार उनले नेपाल आएपछि आफूले काशी बनारसको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य गरेको भन्ने गरेका थिए । ‘तर संभवत त्यो विश्वविद्यालयको प्रांगणमै उनको अहिलेसम्म खुट्टा परेको छैन होला ।’ सिद्धबाबाको किचन क्याबिनेटका एक पात्रले दाबी गर्दै भने–‘हामीले यसरी डाक्टर लेख्दा अप्ठ्यारो पर्नसक्छ पनि भन्यौं, तर उनी कसले मेरो सर्टिफिकेट खोज्छ र भन्दै अटेर गरी नाम अगाडि डाक्टर लेखिरहेका छन् ।’ 

पारिवारिक स्रोतको भनाईलाई आधार मान्ने हो भने उनीसँग हाल नेपाल र भारतको गरी दुईवटा देशको पासपोर्ट छ, जुन गैरकानूनी काम हो । उनले राजस्थानको हनुमानगढ जिल्लाबाट भारतीय पासपोर्ट बनाएका छन् । नेपालको पासपोर्ट चाहि ०६७ सालतिर बनाएका हुन् । यसअघि सिद्धबाबाले नेपालकै दुई ठाउँ सोलुखुम्बु र सुनसरीबाट दुईवटा नागरिकता लिएका र दुवैलाई प्रयोग गरेर धनसम्पत्ति जोडेका खबर सप्रमाण प्रकाशन भएको थियो । तर उनले राज्यको उपल्लो तहसम्म रहेको आफ्नो पहुँचको भरमा कारबाही पर्ने नागरिकता सम्बन्धी संगीन मुद्धालाई समेत फितलो बनाएका देखिएको छ । नेपालको कानून अनुसार एउटै व्यक्तिले दुईवटा नागरिकता लिनु अपराध हो ।  

सिद्धबाबाले आफूले आफैंलाई डाक्टरको पगरी गुथेका र यसबाट सर्वसाधारण ठगीमा परेका भन्दै छानबिन हुनुपर्ने माग गरिएको छ । ‘यदि उनले पिएचडी नै गरेका हुन् भने कुन बिषयमा थेसिस लेखेका थिए ? त्यो थेसिस कहाँ छ ?’ स्रोतले प्रश्नहरु उठाउँदै भनेका छन्–‘भाषण र प्रवचन गर्दैमा डाक्टर लेख्न पाइन्न, अन्य नक्कली डाक्टरको बिषयमा अनुसन्धान गरिरहेको सीइआबीले यसतर्फ पनि ध्यान दिनुपर्यो ।’ 

नक्कली डाक्टरको विषयमा आएको विवादास्पद बिषयमा प्रतिक्रिया लिन खोज्दा सिद्धबाबा सम्पर्कमा आउन चाहेननन् ।