काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेले शुक्रबार काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित श्रीकृष्ण प्रणामी सेवा समिति नेपाललाई सामाजिक उत्तरदायित्वअन्र्तगत रु. २ लाख आर्थिक सहयोग प्रदान गरेको छ।

उक्त रकम समितिले २०७२ सालमा गएको विनाशकारी भूकम्पको कारणले क्षति पुगेको र जोखिममा रहेको श्रीकृष्ण प्रणामी भवनको पुनः संरचना कार्य गर्नका लागि उपयोग गर्नेछ। भवनमा समितिद्वारा वृद्धआश्रम सञ्चालन गर्दै आएको र निर्माणपश्चात सो भवन समितिले असाहाय वृद्धवृद्धाहरुको आवासका लागि उपयोग गर्नेछ। 

समाज कल्याणको कार्य गर्दै आइरहेका समितिलाई बैंकले दिएको आर्थिक सहयोगबाट आश्रय प्रदान हुने र वृद्ध नागरिक कल्याणमा केही हदसम्म भए पनि उत्थान पुग्ने विश्वास बैंकले लिएको छ। 

बैंकले शिक्षा, स्वास्थय, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पूर्वाधार र सुरक्षाजस्ता क्षेत्रअन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाहसम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य राखेको छ।