काठमाण्डौ । सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँको ऋणपत्रमा खरिद आवेदन दिन म्याद लम्बिएको छ। 

बैंकले गत असार १ हजार रुपैयाँ अंकित दरमा कुल ४० लाख इकाइको ‘एसबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्रका इकाइहरु बिक्री खुला गरेको थियो। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा असार १४ गते बैंकिङ समयपछि हुने भनिएको थियो। 

मागबमोजिम आवेदन नपरेकै कारण यो ऋणपत्रमा अब असार २४ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। तर, यो अवधिभित्र मागभन्दा बढी आवेदन परेको खण्डमा कुनै पनि बेला सूचना प्रकाशित गरी निष्काशन बन्द गरिने धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ। 

बैंकले कुल इकाइमध्ये २४ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ। बाँकी १६ लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुलाइएको छ। जसमा ८० हजार इकाइ सामूहिक लगानी कोषलाई छुट्याइएको छ। 

यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइदेखि अधिकतम १ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सक्नेछन्। 

सिद्धार्थ बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १०.७५ प्रतिशत ब्याज पाउनेछन्।