काठमाण्डौ । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ वटा योजनाको आर्थिक वर्ष २०७९–८०को प्रतिफलबापतको रकम इकाइधनीहरुको बैंक खातामा पठाइएको छ। 

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलका अनुसार ‘सिद्धार्थ इक्विटी फन्ड’ र ‘सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२’को नगद प्रतिफल इकाइधनीहरुको बैंक खातामा पठाइएको हो। गत भदौ २७ गतेदेखि नै नगद प्रतिफलबापतको रकम बैंक खातामा जम्मा गरिदिएको क्यापिटलले जनाएको छ। 

उक्त आर्थिक वर्षका लागि सिद्धार्थ इक्विटी फन्डका इकाइधनीहरुलाई करसहित ५ प्रतिशत र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमका इकाइधनीहरुलाई ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरिएको थियो। डिम्याट खातामा बैंक खाता अद्यावधिक नगरेका इकाइधनीहरुलाई प्रतिफल प्राप्त गर्न बैंक खाता अद्यावधिक गर्न पनि क्यापिटलले आग्रह गरेको छ।