काठमाण्डौ । सामाजिक उत्तरदायित्वअन्र्तगत सिन्धु विकास बैंक लिमिटेडले शुक्रबार काभ्रेपलाञ्चोक जिल्लाको पनौती शाखाको प्राँगणमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीलगायत बैंकका उच्च व्यवस्थापनको समेत उपस्थिति थियो। कार्यक्रममा पनौती नगरपालीका क्षेत्रका स्थानीय तथा विभिन्न संघसंस्थाका प्रतिनिधिसमेत गरी करिब ८७ जनाले रक्तदान गरेका छन्। 

सिन्धुपाल्चोक जिल्लाकै प्रथम विकास बैंकका रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्लासमेत गरी ५ जिल्लाहरुमा २४ वटा शाखा कार्यालयहरु र २ वटा सीमित बैंकिङ इकाइबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामीण भेगमा बैंकिङ सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आइरहेको छ।

बैंकले हाल रहेको प्रतिस्पर्धी बजारमा ग्राहकको सुविधाका लागि सम्पूर्ण शाखा कार्यालयमार्फत सन्ध्याकालीन बैंकिङ सेवा, मोबाइल बैंकिङ, एससीटी डेबिट कार्ड, एसएमएस बैंकिङ, क्यूआर कोड, सी–आस्बालगायतका सेवाहरु पनि प्रदान गर्दै आइरहेको छ।