काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडले आफ्नो १३ औँ वार्षिकोत्सव यही भदौ १९ गतेदेखि भदौ २४ गतेसम्म सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाएको छ। 

बैंकको यही भदौ २४ गते परेको वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले ट्राफिक जनचेतना कार्यक्रम, स्कुल–कलेजहरुमा वित्तीय साक्षरता कार्यक्रम, बैंकिङ कसुर तथा साइबर क्राइम विषयमा सचेतनामूलक कार्यक्रमलगायत विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ।

यसका साथै बैंकले चितवन, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र दोलखा जिल्लामा रहेका विभिन्न प्रतिष्ठित मठमन्दिरको सरसफाई तथा डस्टबिन वितरण गरी भदौ २४ गते बैंकको कर्पोरेट कार्यालयको प्राँगणमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा बनेपा बजारलगायत आसपास क्षेत्रका बासिन्दा तथा विभिन्न बैंक तथा वित्तीय संस्था एवं अन्य संघसंस्थाका प्रतिनिधिसमेत गरी ७५ जनाले रक्तदान गरेका थिए। 

सिन्धुपाल्चोक जिल्लाकै पहिलो विकास बैंकका रुपमा स्थापित यो बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्लासमेत गरी ५ जिल्लामा २५ वटा शाखा कार्यालय र एउटा सीमित बैंकिङ इकाइबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।