काठमाण्डौ । सिभिल बैंकको सेयरमूल्यमा अनावश्यक चलखेल हुँदासमेत नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मूकदर्शक र रमिते बनेको छ।
सिभिल बैंकको सेयरमूल्यमा खुलेआम चलखेल भएको देखिँदासमेत नियामक धितोपत्र बोर्ड र नेप्से रमिते बनेको हो। सिभिल बैंकले आफूलाई प्राप्ति गरिदिन अनुरोध गर्दै हिमालयन बैंकलाई एकतर्फी पत्र लेखेको आधारलाई प्रचारप्रसार गरी सेयरमूल्यमा खेल्ने काम भएको छ।
हिमालयन बैंकलाई सिभिल बैंकको सञ्चालक समितिले औपचारिक रुपमा एक पत्र लेखेर आफूहरु हिमालयनमा बिलय हुन इच्छुक रहेको भन्दै मर्जरको प्रस्ताव पठाएको थियो। गत बिहीबार नै पत्र पठाइए पनि शुक्रबार यो विषयलाई योजनाबद्ध रुपले सार्वजनिक गर्दै सिभिल बैंकको सेयरमूल्यमा खेल्ने काम सुरु भएको हो।
सिभिलले मर्जरका लागि लेखेको प्रस्ताव हिमालयन बैंकले गठन गरेको मर्जर कमिटीमा आज पनि पुगिसकेको छैन। यो प्रस्तावको विषयमा भोलि सोमबार मर्जर कमिटीमा छलफल हुँदैछ। तर, हिमालयनको मर्जर कमिटीमा पुग्नुअघि नै पत्र लेखेको विषय सार्वजनिक गरी सेयरमूल्यमा चलखेलको प्रयास गरिएको बजारका जानकारहरु बताउँछन्।
हिमालयन बैंकको मर्जर कमिटीले सिभिल बैंकको सादा प्रस्ताव (सेयर स्वाप, सञ्चालक, उच्च व्यवस्थापनमा कुनै प्रस्ताव वा सर्त राखिएको छैन) लाई कसरी लिन्छ भन्ने कुरा सोमबारपछि मात्र थाहा हुनेछ।
यस्तै सिभिलले पत्राचार गर्नेबित्तिकै उसलाई हिमालयनले लिइहाल्छ भन्ने जसरी हल्ला फिजाएर सेयरमूल्यमा राम्रै चलखेल गर्न खोजिएको भन्दै लगानीकर्ताहरुले यो विषयमा गम्भीर बनिदिन नेप्सेलाई आग्रह गरेका छन्।
गत बिहीबार सिभिल बैंकको अन्तिम मूल्य रु. १५७ प्रतिकित्ता रहेकोमा आज १० प्रतिशत बढाई प्रतिकित्ता १७० रुपैयाँ पुर्याइएको छ।
दोस्रो बजारमा सिभिल बैंकलाई १ः०.५ अनुपातमा मर्ज गर्न लागिएको र सिभिल बैंकको सेयरमूल्य उच्च मूल्य पुर्याएर सोझा लगानीकर्तालाई फसाउने प्रपन्चका रुपमा स्मार्ट लगानीकर्ता र ब्रोकर कम्पनीहरुले हल्ला फिजाइरहेको स्रोतको दाबी छ। बेला–बेलामा दोस्रो बजारमा सम्भावित बैंकलाई टार्गेट गरी अफवाह र गलत प्रचारप्रसार गरी केही स्टक ब्रोकर, बैंककै सञ्चालक र स्मार्ट लगानीकर्ताले चलखेलको प्रयास भने हुने गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19