काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) ले व्यवस्थापकहरुको क्षमता अभिवृद्धि गर्ने अभिप्रायले म्यानेजरियल क्यापसिटी इन्हेन्समेन्ट ट्रेनिङ कार्यक्रम सम्पन्न गरेको छ। 

गत वैशाख १९ देखि २१ गतेसम्म पोखराको द कुटी रिसोर्ट मा सञ्चालन भएको उक्त कार्यक्रममा संस्थाका शाखा प्रमुख, क्लस्टर प्रमुख र केन्द्रीय कार्यालयका कर्मचारीसहित करिब १०० जनाको सहभागिता रहेको थियो। 

तालिम कार्यक्रमको उद्घाटन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले संस्थाले हासिल गरेको प्रगति तथा नतिजा कर्मचारीहरुकै अथक मिहेनत, प्रयास र परिश्रमको फल भएकोले संस्थाका सम्पूर्ण कर्मचारीलाई धन्यवादसहित बधाइ दिँदै नेपालमा लघुवित्त संस्थाहरुले विपन्न वर्गलाई प्रभावकारी रुपमा सेवा प्रदान गरिरहेको परिवेशमा विगत केही समयदेखि लघुवित्त क्षेत्रमा देखिँदै आएको विविध खालको असहज परिस्थितिको बाबजुद पनि विचलित नभईकन ग्राहकलाई सर्वोपरी मानि आफनो सेवाहरु उच्च मनोवलका साथ निरन्तररुपमा प्रदान गर्दै आफनो कार्यसम्पादन गर्न निर्देशन दिए। यसका साथै ग्राहकलाई सेवा प्रदान गर्ने क्रममा बैंक तथा वित्तीय संस्थाहरुबीच तीव्र प्रतिस्पर्धा रहेको वर्तमान अवस्थामा नीति–नियमपूर्वक जिम्मेवारी र गुणस्तरसहितको व्यवसाय सञ्चालन र विस्तारका लागि संस्थामा कार्यरत जनशक्तिको भूमिका प्रमुख रहने भएकोले कर्मचारीहरुको दक्षता तथा क्षमता अभिवृद्धिका लागि संस्थाले यस किसिमका तालिमको आयोजना गरेको र भविष्यमा समेत आवश्यकताको पहिचान गरी कर्मचारीहरुलाई यस संस्थाबाट तालिमहरु प्रदान गर्दै जाने योजना रहेको उनले बताए। 

तालिम समापन कार्यक्रममा संस्थाका सञ्चालक समितिका अध्यक्ष सचिन जंग रायमाझीज्यू तथा सञ्चालकहरुले सहभागीहरुसँग अन्तक्रिया गर्दै तालिमको विषयवस्तुहरुमा सिकेका कुराहरुका बारेमा जानकारी लिई सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए। यसका साथै उनले आर्थिक वर्ष २०७८–७९ मा विविध विधामा सर्वोत्कृष्ट हुन सफल शाखा कार्यालयहरुलाई पुरस्कृत गरेका थिए। 

संस्थाले हासिल गरेको प्रगतिमा कर्मचारीहरुको महत्वपूर्ण योगदान रहेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा संस्थाको थप उन्नति र प्रगतिका लागि लघुवित्त क्षेत्रमा हाल देखा परेका चुनौतिहरुबाट विचलित नभईकन दत्तचित्त भएर कार्य गर्न शुभकामना व्यक्त गरे। 

राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाको हालसम्म ७५ शाखा कार्यालयमार्फत ७४ हजारभन्दा बढी सदस्यलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै रु. १ अर्ब ६ करोड बचत संकलन गरी रु. ४ अर्ब ३७ करोड लगानी रहेको छ।