काठमाण्डौ । सिभिल बैंक लिमीटेडलाई नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले २० घण्टे स्पष्टीकरण सोधेको छ । 

सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्नसक्ने गतिविधि भएको भन्दै भोलि बजार खोल्नुअघिसम्म स्पष्टीकरण पेश गर्न भन्दै बैंकलाई नेप्सेले पत्र पठाएको हो । 

स्पष्टीकरण पत्रमा सिभिल बैंकले हिमालयन बैंक लिमीटेडसँग प्राप्ति गरिदिन अनुरोध गरेको भन्ने विषय विभिन्न संचारमाध्यममा प्रकाशित भएको भन्दै सो सम्बन्धमा धितोपत्र सूचिकरण विनियमावली, २०७५ को विनियम २२ को(च) बमोजिम सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्नसक्ने कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना तुरुन्त दिनुपर्ने भन्ने व्यवस्था बमोजिम सो सम्बन्धी सूचना तथा जानकारी नेप्सेमा सिभिल बैंकले नपठाएको बताइएको छ । 

अतः उपर्युक्त सम्बन्धीमा त्यस कम्पनीको भनाई के छ ? सोको जवाफ असोज ५ गते बजार खुल्नुअघि आइपुग्ने गरी यस लिमीटेडमा पेश गर्नुहुन धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ४८(१) बमोजिम निर्देशन दिइएको व्यहोरा निर्णयानुसार अनुरोध छ । नेप्सेको पत्रमा भनिएको छ । 

यो विषयमा नेप्सेले नियामक धितोपत्र बोर्ड र सहायक कम्पनी सिडिएससीलाई पनि जानकारी दिएको छ । 

अघिल्लो साता सिभिल बैंकले हिमालयन बैंकलाई मर्जरका लागि औपचारिक रुपमा पत्र लेखेको विषय सार्वजनिक भएको थियो । यो विषय हिमालयन बैंकको मर्जर कमिटीमा पुगेर छलफल नै भएको छैन । तर, यति गोप्य विषय जानाजान बाहिर ल्याएर सभिलको सेयर मूल्यमा खेल्ने काम भएको समाचार बिजशालाले प्रकाशित गरेको थियो । 

यही सूचनाका कारण सिभिल बैंकको सेयरमूल्यमा आज बजार खुलेलगत्तै पोजिटिभ सर्किट लागेको थियो । यो विषयमा छानबिन गर्नुपर्ने माग लगानीकर्ताहरुले समेत उठाएका थिए ।