काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले झन्डै ९० हजार कित्ता अवितरित हकप्रद सेयरलाई आजदेखि लिलामीमा राखेको छ । 

सिभिल लघुवित्तले गत साउन २५ गतेदेखि भदौ २९ गतेसम्म जारी गरेको हकप्रदमा बिक्री नभएका सेयरहरु आज(असोज २५ गते)बाट लिलामी प्रक्रियामार्फत बेच्न लागेको हो। 

सिभिल लघुवित्तले कुल ८९ हजार ४५० कित्ता सेयर लिलामीमा राख्नेछ। जसमा संस्थापक समूहको ११ हजार ६०८ र सर्वसाधारण समूहको ७७ हजार ८४२ कित्ता रहेको छ। 

लिलामीमा राखिने सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। संस्थापक संस्थापक, सर्वसाधारण, कानुनबमोजिम योगय संघसंस्थाहरुले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ। दोश्रो बजारमा सिभिल लघुवित्तको सेयर प्रतिकित्ता रु. ७०० भन्दा बढीमा किनबेच भइरहेको छ । 

लिलामीमा बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा बढी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। 

सेयर बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। लगानीकर्ताहरुले काठमाण्डौको कमलादीस्थित सेञ्चुरी क्यापटलको कार्यालय वा सेञ्चुरी कमर्सियल बैंकका शाखा कार्यालयहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, जनकपुर, हेटौँडा, नारायणगढ, घोराही, बागलुङ र महेन्द्रनगरमा आवेदन पेस गर्न सक्नेछन्।

बोलपत्र पेस गर्ने अन्तिम दिन कात्तिक २ गते बैंकिङ समयसम्म तोकिएको छ।