काठमाण्डौ । केही दिनदेखि बजारको हटकेक नागरिक लगानी कोषको सेयर सस्तोमै पाउने अवसर खुलेको छ । 

प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) लिमीटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूहको सेयर शिलबन्दी बोलपत्रको माध्यमबाट बिक्रीका लागि भन्दै कम्पनीले मंगलबार सूचना प्रकाशित गरेको छ । 

प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको सीआइटीको ५० हजार कित्ता सेयर बोल कबोलबाट बिक्री गर्ने भन्दै सूचना आएको हो । 

सूचनाअनुसार सीआइटीको सेयरमा बोलपत्र पेश गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरुले प्रतिकित्ता १७५० रुपैयाँ नघट्ने गरी माघ २८(आज)देखि ७ दिनभित्रमा बोलपत्र पेश गर्नुपर्नेछ।

यो बोलकबोल प्रक्रियामा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी बाहेकका अन्य कम्पनी तथा व्यक्तिहरु भने सहभागी हुन नपाउने सूचनामा उल्लेख छ । 

इच्छुक कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमीटेडको जमलस्थित मुख्य कार्यालय, प्रिमियर इन्स्योरेन्सको नक्सालस्थित मुख्य कार्यालय तथा ग्लोबल आइएमई बैंकको विराटनगर, वीरगञ्ज, हेटौडा, पोखरा, बुटवल, सुर्खेत र धनगढीस्थित शाखा कार्यालयबाट बोलपत्र आवेदन दिन सक्नेछन् । 

सयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतमा १०० कित्ता वा सोभन्दा माथि १० ले माग जाने गरी अधिकतम सबै ५० हजार कित्ताका लागि समेत आवेदन दिन सकिनेछ ।