काठमाण्डौ । नागरिक लगानी कोष(सीआइटी) स्टक डिलरका रुपमा पूँजी बजारमा भित्रिने समय ४ महिना पछि धकेलिने भएको छ ।  

यसअघि  स्टक डिलरका रुपमा कोष बैशाख पहिलो साताबाट बजारमा आउने भनिएको थियो । 

महालेखा परीक्षकलाई कोषको अडिट गर्न समय लागेको र भर्खरै लगानी सम्मेलनका कारणसमेत बैशाखबाट बजारमा स्टक डिलरका रुपमा प्रवेश गर्ने पूर्वतालिका फेरबदल गर्नुपरेको कोषका कार्यकारी निर्देशक रमण नेपालले प्रष्ट्याए । 

कर्मचारी सञ्चय कोष लगायत अन्य संस्थासँग पनि समन्वय गर्न समय लाग्ने भएकाले पूर्वअनुमानित समयमा कोष स्टक डिलरको रुपमा आउन समय लाग्ने देखिएको उनको भनाई छ  ।

सरकारले नागरिक लगानी कोष ऐन प्रस्तावनामा परिवर्तन गरेर कोषलाई पूँजी बजारमा लगानीसँगै अवकास कोष र सामाजिक सुरक्षण कोष सञ्चालन गर्ने अधिकार पनि दिइसकेको छ । 

राष्ट्रियसभा बैठकले अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेश गरेको नागरिक लगानी कोष ऐन संशोधन प्रस्तावलाई पारित गरेसँगै अन्य काम गर्ने बाटो समेत खुलेको हो । 

राष्ट्रियसभाबाट विधेयक पारित भएसँगै नागरिक लगानीकोषको चुक्ता पुँजी समेत वृद्धि भएको छ । कोषको चुक्ता अब पूँजी ३ अर्ब पुग्नेछ भने अधिकृत पुँजी ८ अर्ब । हाल कोषको चुक्तापुँजी १ अर्ब १० करोड रूपैयाँ रहेको छ ।

तीन महिनाअघिदेखि रिहर्सल !
नागरिक लगानीकोषले स्टक डिलरको रिहर्सल भने तीन महिनाअघिदेखि नै सुरु गरिसकेको छ । 

कोषले रिहर्सलको रुपमा दोश्रो बजारबाट हालसम्म केही करोडको सेयर उठाइसकेको छ । 

कोषका कार्यकारी निर्देशक नेपालले बिजशालासँग भने–‘दोश्रो बजारमा सेयर खरिदको क्रम जारी राख्छौ र योसँगै सहायक कम्पनी स्थापनाको प्रक्रिया पनि अगाडि बढाइसकेका छौ।’ 

नागरिक लगानीकोषले छुट्टै सहायक कम्पनी खोलेर त्यसबाट स्टक डिलरको काम गर्नेछ ।

सहायक कम्पनीलाई धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जबाट स्टक डिलरको काम गर्ने स्वीकृति आएपछि अहिले खरीद गरिएका सेयर र यसअघि नागरिक लगानीकोषको नाममा रहेका सेयरलाई समेत सोही कम्पनीमातहत स्थानान्तरण गरिने उनको भनाई छ । 

‘नागरिक लगानीकोषको अर्को शाखा खोलेर काम गर्दा कहिलेकाही अरु कोषहरुको कारोबारमा असर पर्ने डर भएकाले छुट्टै क्यापिटलसहित सहायक कम्पनी खोलेर एउटा बास्केट फण्ड बनाउँछौ ।’ आफ्नो योजना सुनाउँदै नेपालले भने–‘हाम्रैजस्ता संस्थासँग मिलेर बनाइने बास्केट फण्डबाट सेयर मार्केटमा हुने उतारचढावलाई विश्लेषण गरी कोष परिचालनको काम गरिनेछ ।’ 

स्टक डिलर खोलेर त्यसमातहत रहेको बास्केट फण्डको परिचालन गरी बजारलाई धेरै बढ्न पनि नदिने र साह्रै घट्न पनि नदिने रणनीति अवलम्बन गरिनेछ । ‘लगानीकर्ता निरुत्साहित हुने वातावरण नआओस् भन्नका लागि समेत यो काम गर्नुपर्ने हुन्छ ।’ उनले भने–‘स्टक डिलरमार्फत सेयर बजारप्रति लगानीकर्ताको मनोबललाई बलियो बनाउने हाम्रो उद्देश्य हो ।’  

नेपालका अनुसार सेयर खरीद गर्दा बढी जोखिम नउठाउने रणनीति अवलम्बन गरिनेछ । ‘कम्पनीहरुको राम्रो विश्लेषण गरेर कम जोखिमयुक्त सेयर मात्रै किन्छौ ।’ उनले भने–‘एकदमै सतर्क भएर, भरसक घाटा नहुने गरी सेयर किन्छौ ।’

स्टक डिलर खुलिसकेपछि चाहि ठूलै परिमाणमा सेयर उठाउने समेत कोषले प्रष्ट्याएको छ ।