काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास जग्गा अनियमितताका बारेमा फेरि अनुसन्धान सुरु गरेको छ।

सीआईबीको टोलीले बुधबार यो प्रकरणको योजनाकारमध्येका एक मानिएका भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङसहित ५ जनालाई पक्राउ गरेसँगै यो अनियमतताको फाइल पुनः खुलेको हो। करिब डेढ वर्षअघि महान्यायाधीवक्ताको हस्तक्षेपका कारण यो प्रकरणको अनुसन्धान रोकिएको थियो। 

सीआईबीका एक अधिकारीका अनुसार गुरुङसहित, सुरेन्द्रमान कपाली, कलाधर देउजा, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसी पनि पक्राउ परेका हुन्। देउजा डिल्लीबजार मालपोत कार्यालयका पूर्वप्रमुख हुन्। केसी पनि डिल्लीबजार मालपोतमा बसेर पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भूमि विज्ञसमेत भएका थिए। गौतम र कपाली पनि सोही मालपोतका कर्मचारी हुन्।  

ललिता निवासको जग्गा अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धानले सुरुमा छानबिन गरेको थियो। अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा रहेको छ। 

अख्तियारले भ्रष्टाचारबाहेक ठगी र सरकारी कागजात किर्ते गरेको अभियोगमा समेत अनुसन्धान गर्नुपर्ने भनी राय तयार गरेको थियो। तर, महान्यायाधीवक्ता कार्यालयले ठगीमा मुद्दा चल्न नसक्ने भनी फाइल बन्द गरेको थियो।

दुई वर्षअघि सरकारी कागजात कीर्तेको आरोपमा अनुसन्धान अघि बढे पनि मुद्दा दायर हुन सकेन। तत्कालीन मुलुकी ऐनअनुसार किर्तेको अभियोगमा अनुसन्धान गर्न हदम्याद लाग्दैन।

तत्कालीन महान्यायाधीवक्ता खम्मबहादुर खातीको निर्देशनमा सरकारी वकिलको कार्यालय काठमाण्डौले २०७८ मंसिरमा फेरि अनुसन्धान गर्नुअघि फाइल सीआईबीमा पठाएको थियो। त्यतिबेला सीआईबीले सरकारी कागजात कीर्ते गरेको आरोपमा मुद्दा चलाउनुपर्ने भनी अनुसन्धान प्रतिवेदन तयार गरेको थियो।

सीआईबीले यो अनियमिततामा ४ वटा अनुसन्धान प्रतिवेदन तयार पारी २०७८ मंसिरमा सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। सरकारी वकिलको कार्यालयले भने पर्याप्त अनुसन्धान नगरेको र हचुवाको भरमा प्रतिवेदन पेस गरेको भनी निर्देशनसहित फाइल फिर्ता पठाइदिएको थियो। 

ललिता निवास जग्गा अनियमितता प्रकरणमा पूर्वमन्त्रीहरु विजयकुमार गच्छदारदेखि डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशीमाथि पनि भ्रष्टाचारको आरोपमा मुद्दा चलेको छ। अख्तियारका पूर्वप्रमुख दीप बस्न्यातदेखि अन्य २ पूर्वसचिव छविराज पन्त र दिनेशहरि अधिकारी मुछिएका छन्। शोभाकान्त ढकाल, रामकुमार सुवेदी, मीनबहादुर गुरुङ लगायतमाथि जग्गा अनियमितताको योजना बनाएको आरोपमा अख्तियारले ३ वर्षअघि दायर गरेको भ्रष्टाचारमुद्दा विशेष अदालतमा विचाराधीन छ।

यो अनियमिततामा अन्य पनि संलग्न रहेको पाइएको खोजी भइरहेको सीआईबी स्रोत बताउँछ।