काठमाण्डौ । आईपीओ भर्न सीआरएन नम्बर लिने विदेशमा रहेका श्रमिकको संख्या १७ हजार नाघेको छ। 

पछिल्लो समय रेमिट्यान्स वैधानिक च्यानलबाट पठाउन प्रोत्साहन गर्ने उद्देश्यले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओमा १० प्रतिशत कोटा छुट्याइएको छ। जसअनुसार कम्पनीहरुले आईपीओ जारी गर्दा सर्वसाधारणका लागि जारी गर्ने आईपीओमा १० प्रतिशत सेयर विदेशमा रहेका नेपाली श्रमिकका लागि छुट्याउनुपर्ने अनिवार्य गरिएको छ। 

यसरी छुट्याइएको आईपीओ भर्नका लागि विभिन्न प्रावधान तोकिएको छ। तिनै प्रावधानमध्ये सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई अनिवार्य रुपमा रेमिट्यान्स बचत खाता खोल्न र सोही खाताबाट आईपीओ भर्न सीआरएन नम्बर लिनुपर्ने व्यवस्था गरिएको थियो। 

सीडीएससीका अनुसार अहिले सीआरएन नम्बर लिने विदेशमा रहेका श्रमिकहरुको संख्या १७ हजार नाघेको छ। ‘हामीले सूचना नै जारी गरेर रेमिट्यान्स बचत खाताको आईपीओ भर्न सीआरएन नम्बर लिन आग्रह गरेका थियौँ’, सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले भने, ‘अहिलेसम्म १७ हजार बढीले सीआरएन नम्बर लिइसकेका छन्।

यो संख्या विस्तारै बढ्दै जाने न्यौपानेले बताए।