काठमाण्डौ । सी-आस्वा सेवा प्रभावकारी नभएको भन्दै धितोपत्र बोर्डले सेवाप्रदायकप्रति असन्तुष्टि व्यक्त गर्दै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई परिपत्र गरेको छ । 
 
बोर्डले आइतबार एक विज्ञप्तिमार्फत सिडिएससीलाई सीआस्वा सेवालाई प्रभावकारी बनाउन ४ बुँदे निर्देशन दिइएको प्रष्ट पारेको हो । 
 
धितोपत्रको सार्वजनिक निस्काशनमा सी–आस्वा प्रणाली लागू गरिएकोमा लगानीकर्ता एवं आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट समेत सी–आस्वा सफ्टवेयरमा समय समयमा कनेक्टिभिटी जाने तथा सिस्टम ह्याङ हुने जस्ता समस्याले गर्दा सेवा प्रभावकारी नभएको भनी बोर्डमा गुनासो आएकोले निर्देशन जारी गर्नुपरेको बोर्डको प्रष्टोक्ति छ ।
 
सिडिएससीलाई दिइएको ४ बुँदे निर्देशन यस्तो छ:
१. सी–आस्वा सेवाप्रदायक संस्थाहरुलाई प्रदान गरेको सी–आस्वा सफ्टवेयरको कनेक्टिभिटीको क्षमतामा अभिवृद्वि गरी निर्वाध रुपमा सी–आस्वा सेवा सुचारु रहने संयन्त्रको बिकास गर्ने ।
२. सी–आस्वाबाट आवेदन गर्दाको समयमा नै खातामा रहेको रकम तत्काल रोक्का हुने ब्यवस्था सहित आवेदनको सुनिश्चतताको बारेमा सेवाग्राहीलाई तत्कालै(रियल टाइममा) जानकारी गराउने संयन्त्रको बिकास गर्ने ।
३. सेवाग्राहीलाई सी–आस्वा सेवा सम्बन्धमा जानकारी प्रदान गर्न पर्याप्त प्रचार प्रसार गर्ने।
४. सी–आस्वा प्रदायक वैंक वित्तीय संस्थालाई सेवा प्रभावकारी रुपमा कार्यान्वयन गर्न संस्थाका कर्मचारीलाई आवश्यक तालिम प्रदान गर्ने व्यवस्था गर्ने÷गराउन लगाउने ।