– भक्तराज रसाइली 
काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले  ब्रोकर कम्पनीहरुलाई उपलब्ध गराएको धितोपत्र कारोबार राफसाफको प्लेटफर्म क्लियरिङ एन्ड सेटलमेन्ट (सीएनएस) मा लगानीकर्ताहरुको कारोबार गोपनीयता भंग भइरहेको खुलासा भएको छ ।

ब्रोकरहरुले धितोपत्र कारोबार राफसाफ गर्न प्रयोग गर्दै आएको सीएनएसमा आफूमार्फत बेचेको धितोपत्र किन्ने ब्रोकरकहाँ कसले किनेको भनेर देखिने भएकोले लगानीकर्ताको कारोबार गोपनीयता भंग भएको गुनासो बिजशालासँग एक लगानीकर्ताले पोखे । एउटै लगानीकर्ताले एकभन्दा बढी ब्रोकरमार्फत सेयर कारोबार गर्दै आएकोमा एउटा ब्रोकरबाट सेयर किन्दा अर्को ब्रोकरको हप्की खानुपरेको गुनासो ती लगानीकर्ताको छ ।

उदाहरणका लागि मानौँ १ नम्बर ब्रोकर र २ नम्बर ब्रोकरबीच सेयर खरिदबिक्रीको मध्यस्थता भई कारोबार सम्पन्न भएमा १ नम्बर ब्रोकरमार्फत बिक्री भएको सेयरहरु २ नम्बर ब्रोकरमार्फत किनिएमा ब्रोकर नम्बर १ ले २ नम्बर ब्रोकरको ग्राहकले किनेको सीएनएसमा नामावलीसमेत सहजै देखिन्छ ।

नेप्सेको अनलाइन प्रणालीअन्तर्गत टीएमएसमा गत वर्षको कात्तिकदेखि चैतसम्म कारोबार भएका सेयरको फ्लोरसिट एकअर्काे ब्रोकरले सहजै हेर्न मिलेकोमा पछि समाधान गरिएको थियो । दुई/चारजना ब्रोकरले फ्लोरसिटमार्फत अन्य ब्रोकरको गोपनीयता भंग भएकाले ब्रोकर्स एसोसिएसनले नेप्से र सिस्टम आपूर्तिकर्ता वाइको प्रालिलाई जानकारी गराई समस्या हल गरिएको थियो ।

हाल आएर सीएनएसको सिस्टममा पहिले खरिदकर्ता र बिक्रीकर्ता दुवैको विवरण देखिँदै आएको र अहिले चाहिँ खरिदकर्ताको नाम स्पष्ट देखिएकाले समेत ब्रोकरहरुबीच नै अस्वस्थ प्रतिस्पर्धासमेत बढेको  डिल्लीबजारस्थित ब्रोकर हाउसको सीएनएस विभागमा कार्यरत एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताए। 

कारोबारमा संलग्न धितोपत्र कारोबारीहरुको गोपनीयता भंग नहुनुपर्ने एक लगानीकर्ता बताउँछन् । खुला रूपमै अर्को ब्रोकरमार्फत खरिदबिक्री गरेको प्रमाणसहित ब्रोकरले हप्काएपछि न्यायका लागि बिजशालालाई गुहार्नुपरेको ती लगानीकर्ताको भनाइ छ । ‘यसबाट ममात्र हैन धेरैजना लगानीकर्ता र प्रोफेसनल ब्रोकरहरुसमेत प्रताडित छन्’, उनले भने, ‘यस्तो खालको गोप्यता भंग हुनुमा सीडीएससी जिम्मेवार छ ।’

लगानीकर्ताहरुले स्वतन्त्र भई जुनसुकै ब्रोकरमार्फत कारोबार गर्न पाउने हक नै हनन भएकोमा ती लगानीकर्ताले आक्रोश पोखे ।

सेयर कारोबार गर्न पाउने स्वतन्त्रताको हकहितका लागिसमेत सीडीएससी, नेप्से र सेबोनको समेत मौनता भने निकै रहस्यमय रहेको बताइन्छ ।

डिल्लीबजारमै रहेको एक ब्रोकर सबै ब्रोकरहरुले ब्रोकर्स एसोसिएसनमार्फत नै समस्याबारे अवगत गराउँदासमेत सीडीएससी कानमा तेल हालेर बसेको बताउँछन् । ‘पहिले बिक्रीकर्ताको नाम देखिन्थ्यो, अहिले खरिदकर्ताको नाम सहजै देखिन्छ’, उनले भने, ‘बल्लतल्ल खोजेर ल्याएको लगानीकर्ता खोसिने र स्वयम् लगानीकर्ताहरुले नै हैरानी खेप्नुपरेको छ ।’

‘सेलर ब्रोकरकै कारणसमेत बायर ब्रोकर पीडित त हुन्छन् नै लगानीकर्ताले खुलेर सेयर परिमाण खरिदबिक्री गर्न मनोबैज्ञानिक दबाबमा ल्याउने कामसमेत केही ब्रोकरहरूबाट भएको छ’, ती ब्रोकरले आक्रोशित हुँदै भने।

नियामक र सीएनएस सञ्चालनकर्ता सीडीएससीले सिस्टममा लुपहोल राख्दा सेयर बजारमा पारदर्शिताको अभाव हुने र धितोपत्र कारोबारका मध्यस्थकर्ता ब्रोकरहरुबीच नै पनि अस्वस्थ प्रतिस्पर्धाले दुर्घटना निम्त्याउने हुनाले बेलैमा सजग र सचेत हुँदै हल गर्नुपर्ने देखिन्छ ।

सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले सीएनएस यो समस्या रहेको स्वीकारेका छन् । ‘यो समस्या सीडीएससीको प्राथमिकतामा छ, हामी अविलम्ब हटाउन प्रयासमा लागेका छौं’, उनले भने।