काठमाण्डौ । लगानीकर्ताको मागलाई ध्यान राख्दै सीडीएससीले आज (भदौ १२ गते)बाट अब खुल्ने हकप्रद सेयरको जानकारी मोबाइलमा म्यासेज पठाएर दिन सुरु गरेको छ। 

सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यका अनुसार सीडीएससीले सम्बन्धित कम्पनीहरुसँग समन्वय गरी यो कार्यको सुरुआत गरेको हो। ‘आज सिनर्जी पावर कम्पनीका ३८ हजार ३२७ लगानीकर्तालाई हकप्रद निष्कासनबारे मोबाइलमा म्यासेज पठाएको जानकारी गराइएको छ’, आचार्यले भने, ‘यो कम्पनीका कुल ७० हजार लगानीकर्ता छन् । बाँकीलाई पनि क्रमशः म्यासेज जान्छ । तर, केही लगानीकर्ताले गलत ‘९ वटामात्रै नम्बर’ राखेको र केहीले ल्यान्डलाइनको नम्बर पनि राखेकोले सबैलाई म्यासेज पुग्न कठिन भएको छ।’ 

आचर्यले हकप्रद निष्कासनको पाउन सूचनाका लागि सबै लगानीकर्ताले मेरो सेयरमा सही नम्बर राख्न पनि सुझाव दिए । ‘यसरी म्यासेज पठाउन भने सम्बन्धित कम्पनीसँग समन्वय आबश्यक पर्नेछ’, उनले भने, ‘किनकि आफ्ना सेयरहोल्डरलाई सूचना दिने पहिलो दायित्व सम्बन्धित कम्पनीको नै हो।’

सीडीएससीले यसरी म्यासेज पठाउँदा लाग्ने लागत रकम सम्बन्धित कम्पनीबाट लिनेछ। ‘हामीले समन्वय गरेर लगानीकर्तालाई हकप्रद निष्कासनको जानकारीमात्र दिने हो’, उनले भने। 

त्यसो सबै कम्पनीको हकप्रद निष्कासनको सूचना सीडीएससीले नै लगानीकर्तालाई म्यासेज पठाएर दिनुपर्ने अनिवार्यता भने छैन। ‘कम्पनी स्वयंले आफैँ लगानीकर्तालाई हकप्रद निष्कासनबारे म्यासेज पठाएर जानकारी दिन सक्छन्’, आचार्यले भने, ‘यदि कम्पनीहरुले हकप्रद निष्कासन जानकारी गराइदिन आग्रह गरेमा मात्रै सीडीएससीले यो कार्य गर्ने हो।’