काठमाण्डौ । सीडीएससीले डिम्याट खाता नवीकरण नगर्ने लगानीकर्ताहरुको ‘मेरो सेयर’ पनि रोक्का गर्ने भएको छ। 

सीडीएससीले आज एक सूचना प्रकाशित गरी डिम्याट खाता (हितग्राही खाता) नवीकरण नगर्ने लगानीकर्ताको ‘मेरो सेयर’ पनि रोक्का गर्ने जानकारी गराएको हो। 

सीडीएससीको मेरो सेयरमार्फत नै डिम्याट खाता नवीकरण गर्ने व्यवस्था पनि रहेको छ। ‘तर, कतिपय लगानीकर्ताले आफ्नो डिम्याट खाताको नवीकरण नगरी मेरो सेयरमात्र नवीकरण गरी प्रयोग गर्ने गरेको पाइएको छ’, सूचनामा भनिएको छ, ‘यसरी डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताको मेरो सेयर आउँदो भदौ १५ गतेदेखि रोक्का राख्ने व्यवस्था गरिनेछ।’ 

लगानीकर्ताले आफ्नो डिम्याट खाताको वार्षिक शुल्क प्रत्येक आर्थिक वर्षको समाप्त हुनुअगावै आफ्नो निक्षेप सदस्य (डीपी)लाई बुझाउनुपर्ने व्यवस्था छ। ‘यो व्यवस्थाअनुसार शुल्क नबुझाउने लगानीकर्ताको डिम्याट खाता डीपीले रोक्का राख्ने भएकोले त्यस्ता लगानीकर्ता सेयर बिक्री गर्दा खाता रोक्का भएका कारण ईडीआईएस हुन नसकी क्लोजआउटमा पर्ने गरेको देखिन्छ’, सूचनामा भनिएको छ, ‘त्यसैले सबै लगानीकर्तालाई तत्काल आफ्नो डिम्याट खाता नवीकरण गर्न सूचित गरिन्छ।’