काठमाण्डौ । मुलुकभित्र व्यावसायिक शिक्षा र सीपयुक्त रोजगारी सिर्जना गर्न लर्डबुद्ध एजुकेसन फाउन्डेसन र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सहकार्य गर्ने भएका छन्। 

सीपयुक्त रोजगारीको बढ्दो मागलाई सम्बोधन गर्न एवं व्यावसायिक शिक्षा उपलब्ध गराउनका लागि फाउन्डेसन र इन्स्योरेन्स कम्पनीबीच सहकार्य गर्ने सहमति भएको हो। सहमतिपत्रमा फाउन्डेसनका अध्यक्ष पंकज जलान र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले हस्ताक्षर गरेका छन्। 

फाउन्डेसनमा सूचना प्रविधिको विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा प्रशिक्षार्थीका रुपमा सहभागी हुन पाउने सहमति भएको छ। यसबाट विद्यार्थीले पढाइका साथै रोजागारीको समेत अवसर पाउने फाउन्डेसनका अध्यक्ष पंकज जलानले बताए। 

यस्तै एमबीए र एमएससी आईटीएम विषयमा इन्स्योरेन्स कम्पनीका तर्फबाट ६ जना विद्यार्थीलाई फाउन्डेसनले निःशुल्क अध्ययन सुविधा उपलव्ध गराउनेसमेत सहमति भएको छ। इन्स्योरन्स कम्पनीले छनौट गर्ने ६ जना विद्यार्थीलाई शैक्षिकसत्रमा लाग्ने १० लाख २० हजार रुपैयाँ खर्च फाउन्डेसनले व्यर्होनेछ। 

नेपाल लाइफ कम्पनीमा कार्यरत बीमा अभिकर्तामध्ये ६ जनालाई सूचना प्रविधिको अध्ययनमा लाग्ने सम्पूर्ण खर्च फाउन्डेसनले व्यहोर्ने गरी सहमति भएको छ। 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले सामाजिक उत्तरदायित्वअन्र्तगत निःशुल्क शिक्षा र रोजगारी सिर्जना गर्न लागिएको बताए। यो कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिइने उनको भनाइ छ। 

सूचना प्रविधिको विकास र प्रयोग बढे पनि सोअनुसारको दक्ष कामदार पाउन नसकिएकाले आफूहरुले पहल गरेको अध्यक्ष जलानको भनाइ छ। सरकारले पछिल्लो समय अंगिकार गरेको पढ्दै कमाउँदै नीतिको व्यवहारिक कार्यन्वयनका लागि फाउन्डेसनले पनि पहल गरिरहेको उनले बताए।