काठमाण्डौ । अस्ट्रेलियाका अनुसन्धानकर्ताहरुले कोरोना भ्याक्सिन नलगाएका व्यक्तिहरुलाई भाइरसबाट जोगाउन सक्ने दुुईवटा नयाँ औषधि बनाएका छन्। 

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि भ्याक्सिनमात्रै प्रयोगमा आइरहेका बेला अस्ट्रेलियाका अनुसन्धानकर्तालाई यस्तो सफलता हात लागेको हो। यी औषधिले कोरोनाको खोप नलगाएका व्यक्तिहरुलाई संक्रमणबाट जोगाउनुका साथै कोरोनाबाट ग्रसितहरुलाई बचाउने जनाइएको छ। 

प्राध्यापक सुभा राओको नेतृत्वको ब्रिसबेनको क्यूुआईएमआर बरगोफेर मेडिकल रिसर्च इन्स्टिच्युटको एउटा समूहले पेप्टाइडमा आधारित दुुईवटा औषधि विकास गरेको हो। यीमध्ये पहिलो औषधिले मानव कोशिकाको एसीई–२ रिसेप्टरमा प्रोटिनलाई बन्द गर्छ, जसलाई कोरोनाभाइरसले कोशिकामा प्रवेश गर्नुअघि बाँध्ने गर्दछ। 

यस्तै दोस्रो औषधिले भाइरसलाई भित्रबाट रिसेप्टरलाई हाइज्याक गर्न र यसलाई भाइरसको संख्या वृद्धि गर्नबाट  रोक्छ। 

नेतृत्वकर्ता सुभा राओले यी दुुई औषधिले तीव्र रुपमा प्रतिक्रिया जनाइरहेको र यसले मानिसहरुले पूर्ण रुपमा खोप नलगाएसम्म मानिसहरुलाई सुरक्षा प्रदान गर्ने बताइन्। ‘भ्याक्सिनहरु सुस्त हुन्छन्, किनकि भ्याक्सिनहरु शरीरको प्रतिरोधात्मक प्रणालीमा आधारित हुन्छन् र संक्रमणसँग जुध्नका लागि प्रतिरोधात्मक क्षमता बढाउन सिकिरहेका छन्’, उनले भनिन्, ‘तर हामीले विकास गरेको औषधि भने एकलमै तीव्र छ। त्यसैले यदि कसैमा संक्रमण देखियो वा कसैलाई आफूमा संक्रमण छ भन्ने विश्वास छ भने यी औषधिहरुले भाइरसलाई वृद्धि हुन र प्रवेश गर्न रोक्न तीव्र रुपमा काम गर्ने गर्दछन्।’ 

राओको समूहले कोशिकाहरु पेनिट्रेट गर्न प्रयोग गरिएको सार्स–कोभ–२ विधि भेट्याएपछि यी दुुई औषधिहरुको विकास गरेको हो। भाइरस एसीई–२ प्रोटिन रिसेप्टरमा टाँसिने र एकपटक कोशिकाभित्र टाँसिएपछि भाइरसले आफ्नो संख्या वृद्धि गर्न त्यही रिसेप्टरलाई प्रयोग गर्ने राओले बताइन्। 

फ्रान्सका अनुसन्धानकर्ताहरुले मुसामा गरेको परीक्षणमा यी औषिधहरुले एसीई–२ रिसेप्टरलाई सफलतापूर्वक ढाक्न र बन्द गरेका छन्। यदि यी औषधि मानिसमा पनि प्रभावकारी देखियो भने यसले भ्याक्सिन नलगाएका र आफ्नो कमजोर प्रतिरोधात्मक प्रणालीका कारण लगाउन समर्थहरुका लागि एकदमै महत्वपूर्ण हुनेछ। ‘हामीले थाहा छ कि सबै मानिसले भ्याक्सिन लगाउन सक्ने छैनन्। त्यसैले यी औषधिहरु ती मानिसहरुका लागि महत्वपूर्ण साबित हुनेछ’, राओले भनिन्, ‘भ्याक्सिन लगाएकाहरु पनि यदि कोरोनाबाट संक्रमित भए यसले भ्याक्सिनको प्रभावकारिता बढाउनेछ।’ 

यसका साथै यी औषधिको सेवनबाट भर्खरै भ्याक्सिन लगाएकाहरुको प्रतिरोधात्मक क्षमता तीव्र रुपमा विकास हुने राओले बताइन्। राओले यी औषधिहरु एरोसोलका रुपमा अर्थात दमका रोगीहरुले प्रयोग गर्ने अस्थमा पफरमा विकास गर्न लागिएको र यो भ्याक्सिनभन्दा सस्तो र प्रयोग गर्न पनि सजिलो हुने उनले बताइन्। – एजेन्सी