काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले गठन गरेको उच्चस्तरीय अध्ययन कार्यदलको प्रतिवेदन कार्यान्वयन हुने आशाले लगानीकर्ताको मनोबल बढाइदिएको छ ।
डेपुटी गभर्नर शिवराज श्रेष्ठ नेतृत्वको अध्ययन कार्यदलले पूँजी तथा मुद्रा बजारका समस्या र तिनका समाधानको उपायसहितको ५८ पृष्ठ लामो कार्यदल बुधबार साँझ अर्थमन्त्रीलाई बुझाएको थियो ।
अर्थमन्त्रीले प्रतिवेदन बुझेलगत्तै उच्चस्तरीय वित्त आयोगको बैठक बसी त्यहाँ समेटिएका सुझावहरु कार्यान्वयनमा लैजान मातहतका निकायलाई निर्देशन दिएका थिए ।
साताको अन्तिम कारोबार दिन बिहीबारको बजार त्यही निर्देशनबाट प्रभावित भएको छ । अर्थमन्त्रीले बजार सुधारका थुप्रै बुँदा समेटिएको प्रतिवेदन कार्यान्वयनको निर्देशन दिएपछि लगानीकर्तामा मनोबल बढी बजारमा खरिदारी समेत बढेको छ ।
लगानीकर्ताका नेता तथा विश्लेषकहरुले प्रतिवेदनका धेरै बुँदा कार्यान्वयन भए पूँजीबजारको कायापलट हुने विश्लेषण गरिरहेका छन् । यसले पूँजीबजारमा देखिएका समस्या समाधान हुने र बजार बुम हुने आशामा लगानीकर्ताले खरीदारी बढाएका बुझ्न सकिन्छ । तर, लगानीकर्ताहरुको संशयको खाडल पूर्ण रुपमा पुरिन भने बाँकी नै छ । प्रतिवेदन बुझेर त्यसको कार्यान्वयनको निर्देशन मात्र आएकोले कतिपय लगानीकर्ता पर्ख र हेरको रणनीतिमा बसेका कारण अपेक्षित रुपमा बजार बढ्न नसकेको विश्लेषकहरु बताउँछन् ।
यो दिन नेप्से परिसूचक ३.२८ अंकले बढेर ११६५.९७ को विन्दूमा पुगेको छ । राम्रा कम्पनीको सेयर खरीद चाप भएका कारण सेन्सेटिभ इण्डेक्स ०.७४ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लट इण्डेक्समा ०.३३ अंकको बढोत्तरी भएको छ ।
यो दिन बजारका ४ वटा समूहको सूचक घटेको छ । व्यापार समूह ०.३४ अंकले घटेको यो दिन होटल समूहमा २८.९३ अंक, बित्त समूह ६.५९ अंक र अन्य समूह ०.९९ अंकको गिरावट आएको छ ।
बैंकिंग समूह ३.४९ अंकले बढेको यो दिन विकास बैंक समूहमा १२.८८ अंक, जलविद्युत समूहमा ११.५८ अंक, निर्जीवन बिमा समूहमा ३०.४९ अंक, जीवन बिमा समूहमा १९.५१ अंक र माइक्रोफाइनान्स समूहमा १.१२ अंकको बढोत्तरी भएको छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६३ कम्पनीका १२ लाख ५ हजार ९ सय १४ कित्ता सेयर ४० करोड ११ लाख २ हजार ९ सय ३० रुपैयाँमा किनबेच भयो ।
एनएमबी बैंकले सबैभन्दा बढी ५ करोड ६७ लाख बढीको कारोबार गर्यो । यस्तै, नेपाल बैंकले २ करोड ५७ लाख, इन्भेष्टमेन्ट बैंकले १ करोड ८३ लाख, प्राइम कमर्सियल बैंकले पनि १ करोड ८३ लाख, एनआइसी एशियाले १ करोड ६८ लाख, ग्लोबल आइएमई बैंकले १ करोड ४९ लाख, मेगा बैंकले १ करोड १० लाख, एनसीसी बैंकले १ करोड ८ लाख, छिमेक लघुवित्तले ८३ लाख र माछापुच्छे बैंकले ७६ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा सांग्रीला डेभलपमेन्ट बैंकका लगानीकर्ताले धेरै कमाए । यो दिन यो कम्पनीको मूल्य ८ प्रतिशतको हाराहारीमा वृद्धि भयो ।
गुमाउनेमा ललितपुर फाइनान्सका लगानीकर्ता अगाडि देखिए । यो कम्पनीको मूल्य ६.६६ प्रतिशतले घट्यो ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago