काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ बुधबार ४६ महिनाकै उच्च बिन्दूमा पुगेको छ । 

सुनको भाउ ४६ महिनाको सारा रेकर्डहरुलाई तोड्दै प्रति तोला ५९ हजार ५ सय रुपैयाँ कायम भएको हो । 

पछिल्लो पटक सुनको भाउ बेलायत यूरोपियन युनियनबाट अलग हुने जनादेश(बे्रक्जिट)पछि एकैदिन तोलामा ३ हजारले वृद्धि भई ५९ हजार कायम भएको थियो । त्यसपछि उतारचढावको यात्रा गरिरहेको सुनको भाउ ५९ हजार माथि पुगेको थिएन । 

साउन महिनाको ६ र १० गते सुनको भाउ सबैभन्दा कम ५८ हजार २ सय कायम भएको थियो भने साउन १६ गतेदेखि तोलाको ५९ हजारमा कारोबार भइरहेको थियो । साउन १८ गते(मंगलबार)सम्म प्रति तोला ५९ हजारमै स्थिर रहेको सुनको भाउ बुधबार तोलामा ५ सय रुपैयाँले वृद्धि भई ५९ हजार ५ सयको नयाँ उचाई चुमेको हो । 

२०७० भदौ दोश्रो साता ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसपछि ओरालो झरेको थियो । त्यसपछि कुनै पनि दिन सुनको भाउ ५९ हजार माथि पुगेको थिएन । २०७० साल चैतमा सुनको भाउ तोलाको ५५ हजार ८ सय थियो । त्यसपछि २०७२ फागुन १४ गते तोलाको ५६ हजार ५ सयमा कारोबार भएर रेकर्ड कायम भएको थियो । 

२०७० भदौ दोश्रो साता ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ त्यसपछि ओरालो झरेको थियो । त्यसपछि कुनै पनि दिन सुनको भाउ ५९ हजार माथि पुगेको थिएन ।

नेपाली बजारमा सुन हालसम्मकै सबैभन्दा उच्च विन्दू ०६९ साल भदौ तेश्रो साता प्रति तोला ६३ हजार ८ सय ५० मा पुगेको थियो । 

साउन महिनामा मात्र सुनको भाउ प्रति तोला १३ सयले वृद्धि भइसकेको छ । ब्रेक्जिटअघिसम्म सुन खरीद गर्नेहरु त्यसपछि मालामाल भइरहेका छन् । ब्रेक्जिटअघि अधिकतम तोलाको ५६ हजारमा कारोबार भइरहेको सुन ३ हजार ५ सय रुपैयाँ वृद्धि भइसकेको हो । 

अन्तर्राष्ट्रिय बजारमा बढिरहेको मूल्य, डलरमा आएको निरन्तरको कमजोरी तथा कच्चा तेलको भाउमा निरन्तर भइरहेको गिरावटका कारण सुनको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए । 

उनका अनुसार नेपालको आन्तरिक कारणले सुनको भाउमा खासै ठूलो असर पुग्दैन । ‘यो सबै अन्तर्राष्ट्रिय कारणले हो ।’ उनले बिजशालासँग भने–‘सुनको भाउ अझै माथि जानसक्ने संभावना छ ।’ 

चाँदी पनि उक्लियो
सुनसँगै चाँदीको भाउ पनि उक्लिएको छ । बुधबार प्रति तोला १० रुपैयाँले वृद्धि भई चाँदी ९ सय २० रुपैयाँ पुगेको हो । चाँदीको मूल्य साउन १३ गते एकैदिन तोलामा २५ रुपैयाँले बढी १२ गतेको ८८५ रुपैयाँबाट ९ सय १० रुपैयाँको  विन्दूमा पुगेको थियो । साउन १४ गते ९ सय १० रुपैयाँ नै कायम रहेको चाँदी १५ र १६ गते प्रति तोला ५ रुपैयाँले वृद्धि भई ९ सय १५ कायम भयो । साउन १८ गते तोलामा ५ रुपैयाँले घटेर ९ सय १० कायम भएको चाँदी बुधबार तोलामा १० रुपैयाँले वृद्धि भई ९ सय २० को उचाईमा पुगेको हो । ब्रेक्जिटपछि सुनको भाउ भन्दा चाँदीको भाउ निकै ठूलो अन्तरमा बढिरहेको छ ।  

संकटमा सुन व्यवसायी !
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष शाक्यले अहिले नेपालको सुनचाँदी व्यवसाय संकटमा रहेको दाबी गरेका छन् । 

'न्यूरोड र देशका प्रमुख बजारका सुन पसलहरु अहिले भरिभराउ देखिन्छन ।तर त्यहाँ सुन किन्न होइन, सुन बिक्री गर्नेहरुको भीड लागेको कुरा सरोकारवालाले बुझेका छैनन् ।' 

उनका अनुसार पछिल्लो समय नेपालको बजारमा दैनिक १० किलो सुन खपत भइरहे पनि ४० किलो सुन फिर्ता आइरहेको दाबी गरे । ‘हामीले गहना दिंदा नै त्यसलाई आवश्यक पर्दा फिर्ता लिने भनेका हुन्छौ, त्यो धर्म निर्वाह गर्नुपर्छ ।’ उनले भने–‘यही कारण अहिले किन्ने भन्दा सुन बेच्नेहरुको संख्या अधिक छ, यसले हाम्रो व्यवसाय नै धरापमा परेको छ ।’

उनका अनुसार सुन व्यवसायीले बैंक र काँचो सुन व्यापारीबाट सुन खरीद गरेर ल्याए पनि अहिले ती ठाउँमा धेरै सुन फिर्ता आएको छ भनी बिक्री गर्न जाँदा नलिने समस्या रहेको छ । यो समस्याले व्यवसाय नै धरापमा परेको उनको दाबी छ । उनले देशभरका २२ हजार सुनचाँदी व्यवसायी संकटमा रहेकोले उनीहरुको मर्काको बिषयमा सरकार गम्भीर भइदिनुपर्ने माग पनि गरे । ‘न्यूरोड र देशका प्रमुख बजारका सुन पसलहरु अहिले भरिभराउ देखिन्छन ।’ उनले भने–‘तर त्यहाँ सुन किन्न होइन, सुन बिक्री गर्नेहरुको भीड लागेको कुरा सरोकारवालाले बुझेका छैनन् ।’ 

सुनको भाउ ४६ महिनाको उच्च विन्दूमा पुगेका कारण समेत बिक्री गर्नतर्फ सर्वसाधारण र सुन सञ्चित गर्नेहरु आकर्षित भएका हुनसक्ने उनको ठम्याई छ ।