काठमाण्डौ । २५ महिनाको रेकर्डहरुलाई तोड्दै सुनको भाउले सबैभन्दा उच्च विन्दूमा पुगेको ४५ दिनपछि बिहीबार पुनः सोही विन्दू चुमेको छ ।  

२०७३ बैशाख १९ गते सुनको भाउ २५ महिनाकै उच्च विन्दूमा पुगी तोलाको ५७ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि उतारचढाव व्यहोरिरहेको सुनको भाउ बिहीबार तोलामा ४ सय रुपैयाँले बढी पुनः सोही विन्दूमा पुगेको हो । बुधबार प्रति तोला ५६ हजार ६ सयमा कारोबार भएको सुन बिहीबार तोलाको ५७ हजार पुगेको हो । 

२०७० साल चैतमा सुनको भाउ तोलाको ५५ हजार ८ सय थियो । त्यसपछि गत फागुन १४ गते तोलाको ५६ हजार ५ सयमा कारोबार भएर रेकर्ड कायम भएको सुनको भाउ बैशाख १९ गते ५७ हजार पुगेको थियो । 

अन्तर्राष्ट्रिय बजारमा बढिरहेको मूल्य, डलरमा आएको निरन्तरको कमजोरी तथा कच्चा तेलको भाउमा निरन्तर भइरहेको बढोत्तरीले नेपाली बजार समेत प्रभावित भई सुनको भाउले नयाँ विन्दू चुमेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनसँगै चाँदीको भाउ समेत बैशाख १९ गतेकै विन्दूमा पुगेको छ । बुधबार प्रति तोला ७ सय ९५ मा कारोबार भएको चाँदी बिहीबार तोलाको ८ सय ५ रुपैयाँ पुगेको हो । बैशाख १९ गते पनि चाँदी तोलाको ८ सय ५ रुपैयाँमै कारोबार भएको थियो ।

विगत केही महिनादेखि सुनको भाउमा उतारचढाव आइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका सभापति मणिरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर भई कच्चा तेलको मूल्य बढेसँगै सुनको भाउ समेत आकाशिएको हो, त्यसैको प्रभाव नेपाली बजारमा परेको हो । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेका कारण सुनको मूल्य बढेको शाक्य बताउँछन् । सुन उत्पादनमा तेलको खपत हुने गर्छ, त्यही भएर सुनको मूल्य तेलको मूल्यको उतारचढावसँग अन्तरसम्बन्धित हुन्छ । हाल कच्चा तेलको मूल्य ४८ डलरको आसपास कायम छ ।