काठमाण्डौ । नेपालमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाइसकेको छ । पछिल्लो समय नेपाली बजारमा फाइन गोल्डको मूल्य प्रतितोला ७४ हजार ५०० रुपैयाँको उचाईमा पुगिसकेको छ । 

पहेँलो धातुको मूल्यमा सुरु भएको बढोत्तरीको यो क्रम तत्काल रोकिने संभावना देखिन्न । 

अमेरिका र इरानबीचको सैन्य तनावका कारण विदेशमा सुनको मूल्यले नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । विदेशको मूल्यले घरेलु बजारको मूल्यलाई समेत प्रत्यक्ष प्रभाव पार्नेछ । 

विदेशमा समेत सुनको मूल्यमा भारि वृद्धि भइरहेको छ । जनवरी ३ मा विदेशी बजारमा सुनको मूल्य प्रति औंस १५५४.५९ अमेरिकी डलरको उचाईमा पुगेको छ । यो भनेको अघिल्लो दिनको तुलनामा २५.८७ डलरको बढोत्तरी हो । 

यो हिसाबले विदेशमा सुनको मूल्य प्रतिकेजी ४९९८१.२३ डलरको उचाईमा पुगेको छ । 

पछिल्लो २४ घण्टामा सुनको मूल्यमा ३ प्रतिशतको हाराहारीमा बढोत्तरी भइसकेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । 

चाँदीको मूल्यमा समेत तीव्र बढोत्तरी भइरहेको छ । 

नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला ९०० रुपैयाँको उचाईमा पुगिसकेको छ । पुस १ गतेसम्म चाँदीको मूल्य प्रतितोला ८५० रुपैयाँ मात्र थियो ।

जानकारहरुका अनुसार अबको एक हप्तासम्म सुन तथा चाँदीको मूल्य घट्ने संभावना छैन । तर, जनवरी १५ मा हुने अमेरिका र चीनबीचको व्यापार सम्झौतापछि भने सुनको मूल्य सस्तिनसक्नेछ । 

इरानसँग अमेरिकी तनावका कारण मात्र नभई चीनले हरेक वर्षको जनवरी २५ का दिन मनाउने नयाँ वर्षको उत्सवमा हुने निकै ठूलो खरिदारीले समेत सुनको भाउमा सपोर्ट प्राप्त भइरहेको विश्लेषकहरुले दाबी गरेका छन् । 

यी सबै अन्तराष्ट्रिय कारणलाई हेर्दा नेपालमा समेत सुनचाँदीको भाउ अझै बढ्नसक्ने देखिन्छ ।